काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.११ प्रतिशतले बढेको छ ।
गत आवको असार मसान्तसम्म लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १२ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै खुद नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ५.७१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड पुगेको छ ।
असार मसान्तसम्म लघुवित्तले ३० अर्ब ७१ करोड करोड निक्षेप संकलन र ४ अर्ब ५५ करोड सापटी लिइ कुल ३२ अर्ब कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड ९ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ४५ करोड र जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ छ । जसबाट सेयरधनीलाई ५१.१४ प्रतिशत लाभांश दिन सक्छ ।
खुद नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ४४.४२ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ६.९७ रुपैयाँ घटेर ३७.४५ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३८.२७ रुपैयाँ, खराब कर्जा १.७२ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ ।