काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सबै स्थानीय तहमा तत्काल औद्योगिक ग्राम सञ्चालन हुनुपर्ने आवश्यकता बोध गरेको छ ।
सम्पूर्ण भौतिक सुविधासहितको औद्योगिक ग्रामहरु निर्माण गरी उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न राज्य चुकेको महासंघको ठहर रहेको छ ।
भौतिक पूर्वाधार र औद्योगिक ग्राम नहुँदा घरेलु तथा साना उद्योगको क्षेत्रमा लगानी आउन नसकेको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीको ठम्याई छ ।
‘उद्योग स्थापनाका लागि प्रोत्साहन दिन भौतिक सुविधासहित औद्योगिक ग्राम हुनुपर्छ,’ गिरी भन्छन्, ‘तर, सरकारले उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न औद्योगिक ग्राम निर्माण गरेको छैन ।’ यद्यपि, संघीय सरकारको मन्त्रिपरिषद्ले ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरिसकेको छ । तर, कहिले निर्माण हुन्छ भने स्पष्ट भएको छैन ।
औद्योगिक क्षेत्र विकासका लागि पर्याप्त सडक सञ्जाल नभएकाले पनि उद्योग स्थापना हुन नसकेको अध्यक्ष गिरीको बुझाइ छ । अध्यक्ष गिरीले भने, ‘सडक नहुँदा सञ्चालित उद्योगबाट उत्पादित वस्तुहरु बजारसम्म पुर्याउन सकिएको छैन । सम्पूर्ण भौतिक सुविधासहितको औद्योगिक ग्राम निर्माण गरी उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न राज्य चुकेको छ ।’
अध्यक्ष गिरीका अनुसार लघु, घरेलु तथा साना उद्योगहरुक दुर्गम–ग्रामीण क्षेत्रमा छरिएर रहेको र सो स्थानसम्म बैंक पुग्न नसक्दा समस्या उत्पन्न भएको छ । ‘सरकारले आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा समेत काम गर्ने सबै कर्मचारी तथा मजदुरलाई अनिवार्य प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गर्यो, तर सोही अनुरुप पूर्वाधार निर्माण गरिदिएन । यसले गर्दा साना उद्योगलाई समस्या परेको छ,’ गिरीले स्पष्ट पारे ।
घरेलु तथा साना उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ४ लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएका छन् । यसैगरी, नवीकरण भई दर्ता कायम रहेका घरेलु तथा साना उद्योगको संख्या २ लाख ९९ हजार ३ सय ११ रहेको छ । महासंघको तथ्यांकअनुसार घरेलु तथा साना उद्योगमा करिब ४ खर्ब १२ अर्ब रुपैया लगानी रहेको छ ।
त्यस्तै यस क्षेत्रमा करिब २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । यसबाहेक मुलुकभर झन्डै ५ लाख लघु उद्यम व्यवसायहरु बिना दर्ता सञ्चालनमा रहेको महासंघको अनुमान रहेको छ ।
घरेलु तथा साना उद्योग विभागको तथ्यांकअनुसार आव २०७४/७५ मा लघु उद्योग १६ सय ५५१ दर्ता भएका छन् भने घरेलु १७ हजार २ सय ८९ उद्योग दर्ता भएका छन् । यसैगरी, साना उद्योग २ लाख ६८ हजार ९ सय ३४ वटा दर्ता भएका छन् । लघु, घरेलु तथा साना उद्योग गरी मुलुकमा कुल ३ लाख २ हजार ७ सय ७४ वटा उद्योग दर्ता भएका छन् ।