काठमाडौं । उपत्यका विकास प्राधिकरणले ३ वटा नयाँ सहर (स्मार्ट सिटी) को डीपीआर तयार गरेको छ । प्राधिकरणले उपत्यकामा बन्ने ३ स्मार्ट सिटी इसान (पूर्व–उत्तर क्षेत्र), आग्नेय (पूर्व–दक्षिण क्षेत्र) र नैऋत्य (दक्षिण–पश्चिम क्षेत्र) मा बन्ने स्मार्ट सिटीको डीपीआर तयार पारेको हो ।
१ लाख रोपनी क्षेत्रफलमा बन्ने इसान स्र्माट सिटी र १० हजार रोपनीमा बन्ने आग्नेय स्मार्ट सिटीको डीपीआर प्राधिकरणको सञ्चालक समितिबाट पास भएको छ भने नैऋत्य स्मार्ट सिटीको डीपीआर समितिमा छलफलको क्रममा रहेको छ ।
संचालक समितिबाट पास भएका डीपीआर स्वीकृतिको लागि समितिले संसद्को भौतिक विकास समितिमा पठाउन सिफारिस गरेको छ । सो डिपिआर भौतिक विकास समितिमा पेस गर्ने तयारी गरिरहेको उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी केशव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यो डीपीआर भौतिक समितिबाट पास भएपछि अन्तिम स्वीकृतिको लागि मन्त्रीपरिषद्मा पेश हुनेछ । सो डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि निर्माणको काम अघि बढ्ने छ ।
‘भर्खर सञ्चालक समितिबाट भौतिक विकास समितिमा लान सिफारिस भएको छ, त्यसबाट पास भएर मन्त्रीपरिषद्मा पुग्ने छ, मन्त्रीपरिषद्बाट पास भएपछि मात्र निर्माणका लागि प्रकृया अघि बढाइने छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने । तर, १ लाख रोपनी क्षेत्रफलमा फैलिने नयाँ सहर निर्माणका लागि धेरै खर्च लाग्ने भएकाले सरकारबाट स्वीकृत हुन गाह्रो हुने सिभिल इन्जिनीयरहरु बताउँछन् ।
सिभिल इन्जिनियर सुरेन्द्र सिंहका अनुसार १ लाख रोपनीको इसान नयाँ सहर बनाउनलाई अनुमानित ४ खर्ब रुपैयाँ लाग्ने छ । जुन सरकारले आफ्नो लगानीमा बनाउन सक्ने सम्भावना कम रहेको छ ।
भक्तपुर सूर्यविनायकमा पर्ने १० हजार रोपनी नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने भएकाले छिटो निर्माण शुुरु हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै काठमाडौंको उत्तरतर्फ रहेको १० हजार रोपनी नयाँ सहरको डीपीआर भने अझै पूरा भएको छैन । सो डीपीआर पूरा हुन अझै १ महिना लाग्ने भएको छ । न्यौपानेका अनुसार उक्त डीपीआर अबको १ महिना भित्र पूरा भइसक्ने छ ।
स्मार्ट सिटीमा सर्वसाधरणको हाल भएको जग्गाको ३० प्रतिशत क्षेत्रफल जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने छ । भने बाँकी १० प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ ।
ल्याण्ड पुलिङमा लिएर जग्गाको विकास गरेर सम्बन्धित जग्गाधनीलाई नै उपयोग गर्न दिने भएकाले यस आयोजनामा मुआब्जा दिनुपर्ने छैन ।स्मार्ट सीटी क्षेत्रभित्र पर्ने जग्गालाई हरेक ठाउँमा ४ आनाको प्लटिङ गरिनेछ । नयाँ सहरमा न्यूनतम् ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् ।

खोलालाई बाढी आउँदा पोखरीमा जाने तरिकाले डीपीआर डिजाइन गरिएको प्राधिकरणले जनाएको छ ।नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलिस स्टेसन, स्कूल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।
हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । १० हजार रोपनीका अन्य दुई नयाँ सहरको डीपीआर निर्माणका लागि ३÷३ करोड रुपैयाँ खर्च भएको छ ।
स्मार्ट सिटीभित्र समेटिएका क्षेत्रहरु
इसान स्मार्ट सिटी : याे करिब १ लाख रोपनी क्षेत्रफलमा फैलने छ। यो काठमाडौैंकाे पूर्व–उत्तर क्षेत्रमा पर्छ। पूर्वमा भक्तपुरको नगरकोट जाने सडक,तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा जोरपाटी क्रिकेट स्टेडियमबाट मुलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने बाटो फैलिने छ। त्यस्तै उतरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलने छ।
आग्नेय स्मार्ट सिटी : याे करिव १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। यो उपत्यकाको पूर्व–दक्षिण क्षेत्रमा फैलिने छ ।यो पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि मन्दिर,सूर्यविनायक वनलाइ बहिर पार्दै शहर निर्माण हुनेछ।

पश्चिममा खहरे खोला ,बालकोट विरुवा सडक, पानी ट्याङकी अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालाई छुनेछ। शहर उत्तरमा अरनिको राजमार्ग सिमाना सम्म फैलने छ।दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ ,अनन्तलिङगेश्वर फेदी, तर्खगाल,पात्लेश्वर विरुवा हुँदै खहरेसम्म पुग्नेछ।
नैऋत्य स्मार्ट सिटी : याे करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। यो उपत्यकाको दक्षिण-पश्चिम क्षेत्रमा रहने छ । यो सहर मुख्यत ललितपुरलाई समेटेर निर्माण हुनेछ।
पूर्वमा छ्यासिकोट देखि सैबु हुँदै फर्सिडोल बाग्मती नदिको झोलुङगे पुल सम्म पुग्नेछ । त्यस्तै पश्चिममा बाग्मती नदीको सिमाना सम्म तथा उत्तरमा सैवु र दक्षिण तर्फ बागमती नदि सम्म फैलिने छ।