४० अर्बमा बनेका गौतमबुद्ध र पोखरा विमानस्थल बिजनेशविहीन, खर्च धान्नै मुस्किल

काठमाडौं । तामझामका साथै एकैवर्ष उद्घाटन गरिएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिजनेशविहीन भएका छन् । नियमित अन्तर्राष्ट्रिय उडान नपाउँदा विमानस्थलको निर्माण लागत उठ्नुको सट्टा सञ्चालन खर्च धान्नै सकस परेको हो ।

४० अर्ब बढी रुपैयाँ ऋण लिएर निर्माण गरेका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेश नपाउँदा एकातिर आन्तरिक सञ्चालन खर्च पनि धान्न मुस्किल परेको छ भने अर्कोतिर ऋणको भार थपिँदै गएको छ ।

नागरिक उड्ड्यन प्राधिकरणका एक अधिकारी प्रविधिक समस्या समाधान र एयरलाइन्स कम्पनीको बिजनेश सुरक्षित नभएसम्म उडान नगर्ने देखिएको बताउँछन् ।

‘कमर्सियल रूपमा भायबल नहुन्जेलसम्म कुनै पनि विमान कम्पनीले उडानका लागि चासो दिने अवस्था छैन,’ उनले भने, ‘केही प्राविधि समस्याहरू छन् । एयर रुटदेखि अन्य बिजनेश सुनिश्चित नहुन्जेलसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गर्दैनन् ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्य केही अन्तर्राष्ट्रिय विमान कम्पनीले उडानका लागि चासो देखाए पनि निश्चित नभएको बताउँछन् ।

‘म्यानमार, भुटान लगायतका देशबाट एयरलाइन्स कम्पनीहरूले उडानका लागि चासो देखाएका थिए । हामीले विमानस्थलको निरीक्षण समेत गराएका थियौं,’ उनले भने, ‘त्यसपछि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिका लागि अघि बढ्ने बुझिएको थियो । त्यसयता प्रक्रिया कहाँ पुर्याए उनीहरूले थाहा भएन् ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरू पनि तत्काल उडानका लागि कुनै अन्तर्राष्ट्रिय वायु कम्पनी आउने अवस्था नदेखिएको बताउँछन् ।

त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि २०७९ जेठ २ गत दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवा स्थिरत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । त्यसको सात महिनापछि २०७९ पुस १७ गते अर्को अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

छैन बिजनेश

सरकारले एक वर्षभित्रै उद्घाटन गरेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान नपाउँदा बिनजेश विहीनको अवस्थामा छन् । गौतमबुद्ध विमानस्थलमा उद्घाटन अघि उडानको तालिका निकालेको कुवेतको जजिराले समेत गत २०८० वैशाख ७ देखि केही समय उडान गरेर स्थगित गरेको छ ।

त्यसपछि एयर अरेबिया, भेतनाम, कम्बोडिया, थाइल्याण्डको स्माइल र ओमनको सलाम एउरले उडानका लागि चासो देखाएका थिए । तर, यी कम्पनीहरूले उडान अहिलेसम्म गरेका छैनन् ।

उडानका लागि विदेशी विमान कम्पनीले चासो नदेखिएपछि सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिने बताउँदै नागरिक उड्डय प्राधिकरणले हिमालयन एयरलाइन्सलाई आकर्षण गरेको थियो । तर, स्वदेशी कम्पनी हिमालयन एयरलाइन्सले पनि नियमित उडान गर्न सकिरहेको छैन ।

गौतमबुद्ध विमानस्थलमा अहिले सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले मलेसियाको कोलालाम्पुरबाट सातामा एउटा उडान गर्दै आएको छ । पोखरा विमानस्थलको पनि सोही नियति छ । गत असार ८ र ९ गते पोखरामा भएको नेपाल चाइना फ्रेन्डसिप ड्रागन बोर्ट फेस्टीभलमा चिनको सिन्चुआङ एयरले छेन्दुङ तियन्कुदेखि चार्टर्ड उडान गरे पनि त्यो नै पहिलो र अन्तिम अन्तर्राष्ट्रिय उडान भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि भुटानको राष्ट्रिय एयर कम्पनीले चासो देखाएको छ । तर, निश्चित भने भएको छैन ।

बढ्दै ऋणको भार

वैदेशिक ऋण लिएर निर्माण गरिएका यि विमानस्थलले नियमित बिजनेश नपाउँदा ऋणको भार पनि थपिँदै गएको छ । एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड सहित ३० अर्बको लागतमा गौतमबुद्ध अनर्रष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो ।

ऋण तिर्न ८ वर्षको ग्रेस अवधि सहित नेपालले ३२ वर्ष नेपालले पाएको छ । यो ऋणको किस्ता २०७२ देखि नै सरकारले तिर्न सुरू गरिसकेको छ । ढिलागरी निर्माण सम्पन्न भएको विमानस्थल उद्घाटनको एक वर्षसम्म नियमित बिजनेश नपाउँदा सरकारले ऋण तिर्नुपर्ने साँवा र ब्याजको दायित्व थपिँदै गएको हो ।

प्राधिकरणले गौतमबुद्ध विमानस्थलमा करिब १ अर्ब रुपैयाँ खर्च गरेर इन्स्टुमेन्ट्रल ल्यान्डिङ सिष्टम (आइएलएस) समेत जडान गरेर न्यून भिजिबिलिटीमा समेत उडान गर्न सकिने बनाएको छ । तर, भारतसँगको सम्वन्यका कारण सो प्रणालीमा आधारित भएर अहिलेसम्म उडान गरिएको छैन ।

सरकारले पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिएको छ । जसको २५ प्रतिशत (७ अर्ब १३ करोड) रुपैयाँको ब्याज नलाग्ने भए पनि ७५ प्रतिशत (२१ अर्ब ४० करोड) को ५ प्रतिशत ब्याज तिनुपर्ने सम्झौता छ । निर्माण अवधिदेखि ७ वर्षको ग्रेस अवधि सकिएपछि चैतदेखि सरकारले किस्ता तिनुपर्ने भइसकेको छ । सुरूआति चरणमा २२ अर्ब मात्रै रहेको ऋण अहिले २८ अर्ब पुगिसकेको छ । तर, विमानस्थलबाट आउने लागतको प्रतिफल भने अनिश्चित छ ।

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले घुमे भक्तपुर Read Previous

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले घुमे भक्तपुर

१ क्वीन्टल सुन प्रकरण : व्‍यापारी राकेश अडुकियाका छोरा पक्राउ Read Next

१ क्वीन्टल सुन प्रकरण : व्‍यापारी राकेश अडुकियाका छोरा पक्राउ