भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।
भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९र८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् ।
कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कोरोना महामारीका समयमा सामान्यरुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताए ।
उनका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार ३३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार ३१८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र चीनका पर्यटक रहेका छन् ।
यसै, आर्थिक वर्षमा पर्यटन शुल्कबाट रु १८ करोड ४० लाखभन्दा बढी सङ्कलन भएको उहाँले जानकारी दिए। जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट रु १४ करोड ३४ लाख र र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु चार करोड छ लाख पर्यटन शुल्क सङ्कलन भएको छ ।
आव २०७८र७९ मा भने यहीँ ५३ हजार ५६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । जसमध्ये गैरसार्क राष्ट्रका २२ हजार ८७ जना र सार्क राष्ट्र एवं चीनका ३१ हजार ४७३ जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए ।
आव २०७८र२०७९ मा रु चार करोड ८९ लाख मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो । जसमा गैरसार्क पर्यटकबाट रु ३ करोड २७ लाख र सार्क राष्ट्र एवं चीनका पर्यटकबाट रु १ करोड ५७ लाख ३६ हजार ५०० मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो ।
आव २०७८र७९ को तुलनामा आव २०७९र८० मा भक्तपुर नगरपालिका क्षेत्रका सम्पदा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा एक लाख १४ हजार ९२ जना वृद्धि भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए।
भक्तपुर आगमनमा वृद्धि भएका पर्यटकको सङ्ख्यामध्ये गैरसार्कबाट ६४ हजार दुई सय ४७ जना र सार्क एवं चीनका ४९ हजार आठ सय ४५ जना पर्यटक रहेका छन् । त्यस्तै आव २०७८र७९ को तुलनामा यस आव २०७९र८० मा रु १३ करोड ३१ लाख ३६ हजार चार सयले पर्यटन शुल्कबाट वृद्धि भएको छ ।
भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०७९र८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्यूजील्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलोब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । नगरपालिकाका प्रहरी एवं कर्मचारीले शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकलाई तुरुन्तै नियन्त्रणमा लिइ शुल्क तिर्न लगाउने गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकसँग प्रतिपर्यटक नेरु १ हजार ५०० लाई वृद्धि गरी रु १ हजार ८०० कायम गरी शुल्क सङ्कलन गर्दै आएको छ भने सार्क तथा चिनियाँ पर्यटकसँग रु पाँच सय शुल्क सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सार्क तथा चिनियाँ पर्यटकलाई भने भक्तपुर भ्रमणमा छुटको व्यवस्था गर्दै कम शुल्कमा भक्तपुरको अवलोकन गर्न पाउने व्यवस्था गरेको छ ।