काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १३ वटा चार्जिङ स्टेशन बनाउने भएको छ । हाल देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन बनाइरहेको प्राधिकरणले थप १३ वटा निर्माण गर्न लागेको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले हाल देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएकोमा अब थप १३ ठाउँमा निर्माण अघि बढाउन लागिएको बताए । यस्तै, निजी क्षेत्रले विभिन्न १०० ठाउँमा चार्जिङ स्टेसन निर्माण अघि बढाएको उनले बताए ।
‘विद्युत् खपत बढाउन विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएको छ भने थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको छ,’ घिसिङले भने, ‘त्यस्तै निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने प्राधिकरणको नीति अनुरुप देशको विभिन्न ठाउँमा १०० वटाभन्दा बढी चार्जिङ स्टेशन जडान कार्य भैरहेको छ ।’
प्राधिकरणले देशभरका विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउने र सडक बत्ती जडान गर्ने काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ ।
यस्तै, शहर उज्यालो कार्यक्रम अन्तर्गत ललितपुर, पोखरा, भरतपुर लगायत देशका करिव ८ वटा नगरपालिकामा ११ हजार ५०० वटा सडक बत्ति र ६७ वटा हाइमास्ट जडान सम्पन्न भएको उनले बताए ।
यसैगरी, प्राधिकरणले काठमाडौ लगायत २७ वटा पालिकाहरुमा सडक बत्ती जडान कार्य अगाडि बढाएको छ ।देशमा रहेको विभिन्न सम्पदा सूचीमा रहेका मन्दिर गुम्बा आदिमा लाइटिङ्ग गर्ने कार्य अन्तर्गत बौद्ध, स्वयम्भु र पशुपतिनाथमा आर्किटेक्टर लाइटिङ डिजाइन गरी कार्यान्वयनको चरणमा रहेको घिसिङको भनाइ छ ।
हरित हाइड्रोजनको सम्भाव्यता अध्ययन
प्राधिकरणले हरित हाइड्रोजनको उत्पादन र प्रयोगको सम्भाव्यता अध्ययन गरिरहेको छ । यससम्बन्धी ग्लोबल ग्रिन ग्रोथ इनिष्टिच्युटको सहयोगमा सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ भने अब कार्यान्वयनको चरणमा रहेका घिसिङले बताए ।
‘हरित हाइड्रोजन कार्यक्रम सम्वन्धि ग्रिन ग्रोथ इन्ष्टिच्युट कोरिया र काठमाडौं विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरि कार्यान्वयनको चरणमा रहेको छ,’ उनले भने ।