काठमाडौं । सेयर बजारमा लगातार सुधार देखिएको छ । बुधबार ४१ अंकले बढेको नेप्से आज पनि ५ अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति जारी गरेपछि २०८ अंकले घटेको नेप्से हिजोदेखि लय समातेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक ५.१३अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको छ । यसदिन २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १७ करोड रुपैयाँको ३ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।
सामान्य अंकले बढेको बजारमा अभियान लघुवित्तका सेयरधनीले सर्वाधिक ९.०९ प्रतिशत कमाएका छन् । त्यस्तै, सिंगटी हाइड्रोपावर ७.४९, श्वेत गंगा हाइड्रोपावर ६.५५, नबिल इक्वीटी फण्ड र सोल्टी होटलको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।