काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए ।
पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सिधा उडान आवश्यक रहेको समेत बताए । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकहरूको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।
महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । यसैगरी, नेपालमा चिनियाँ बैंक आउने सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूत संगको ध्यानाकर्षण गराए ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । भेटका क्रममा राजदूत संगले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए ।
तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे ।
यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत संगले दिए । भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।