काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णय गर्दै समिति गठन गरेको हो ।
समितिमा प्रा.डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, प्रा.डा. शैली प्रधान, प्रा.डा. रविमान श्रेष्ठ, प्रा.डा. किरणप्रसाद श्रेष्ठ, प्रा.डा.रत्नमणि गजुरेल, प्रा.डा.सुवास आचार्य, प्रा.डा. शशि शर्मा, प्रा.डा. रमेश चाखनी, सह प्रा.डा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकार सदस्य रहेका छन् ।
नेपालका स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्त्वपूर्ण निकायमा कार्यरत विशिष्ठ व्यक्तिको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेश गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको बताइएको छ ।
समितिले वीर अस्पतालबाट भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ ।
समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भीभीआइपी र भीआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।
उनले भने, ‘अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने ?