काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७९/८० मा सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेका छन् । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जा विस्तार गर्न नसकेका बैंकहरूले खुद नाफा भने औसतमा २४.९३ प्रतिशत बढाउन सफल भएका छन् ।
गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १४ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूले कुल ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
कुल ७० अर्ब खुद नाफा कमाएका वाणिज्य बैंकहरूको वितरण योग्य नाफा ३० अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकहरूले आफ्ना सेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न सक्छन् । साथै, बैंककहरूले सेयर प्रिमियमबाट संकलन भएको रकमबाट पनि आफ्ना सेयरधनीलाई लाभांश खुवाउन सक्छन् ।
गत वर्ष २० वटा वाणिज्य बैंकहरू मध्ये १८ बैंकले लाभांश बाँड्न सक्ने देखिएको छ । दुई बैंकको भने वितरण योग्य नाफा ऋणात्मक रहेको छ । कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूको लाभांश क्षमता औसतमा ११.५१ प्रतिशत रहेको छ । अर्थात् गत वर्षको नाफाबाट बैंकहरूले औसतमा साढे ११ प्रतिशत लाभांश दिन सक्छन् ।
यद्यपि, बैंकहरूले वितरण योग्य नाफाबाट लाभांश नबाँड्न पनि सक्छन् । त्यस्तै, राष्ट्र बैंकले तोकेका शर्तहरू पूरा नभएमा पनि लाभांश बाँड्न पाउँदैनन् । अघिल्लो वर्ष पूँजीकोष नपुर्याउँदा लक्ष्मी, एनआइसी, एशिया, माछापुच्छ्रे, सनराइज बैंकले लाभांश बाँड्न पाएका थिएनन् ।
कुन बैंकले कति लाभांश दिन सक्छन् ।
गत वर्षको नाफाबाट एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने देखिएको छ । बैंकको वितरण योग्य नाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ ।
यस्तै, दोस्रो धेरै लाभांश दिनसक्ने क्षमता एनआइसी एशियाको रहेको छ । विगत ३ वर्षदेखि सेयरधनीलाई कुनै प्रतिफल नदिएको एनआइसीको ३१.९९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता छ ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, २८.९९, सानिमा १७.७३, माछापुच्छ्रे १५.२९, कृषि विकास बैंक १४.९२, नबिल १४.६४, नेपाल एसबीआईले १३.९३ प्रतिशत लाभांश बाँड्न सक्छनन् ।
त्यसैगरी, लक्ष्मी सनराइज, ग्लोबल र एनएमबीले ८ प्रतिशत, सिटिजन्सले ७.३०, नेपाल ६.६२ सिद्धार्थले ५.६५ र प्राइम कमर्शियल बैंकले १ प्रतिशत लाभांश बाँड्न सक्छ ।
प्रभु र इन्भेष्टमेन्टको लाभांश क्षमता १ प्रतिशतभन्दा कम रहेको छ भने कुमारी र हिमालयनले लाभांश बाँड्न सक्दैनन् । यी दुई बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।