काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल नेतृत्वको नयाँ कार्यसमितिले १०० दिनको कार्यभार पूरा गरेको छ । गत चैत २८ र २९ चैत सम्पन्न महासंघको ५७ औं वार्षिक साधारणसभाबाट चयन कार्य समितिले बिहीबार १०० दिन पूरा गरेको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ नेतृत्व लिएको १०० दिनमा अर्थतन्त्रलाई गति दिन महत्वपूर्ण पहल गरेको दाबी गरेका छन् । उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सरोकारवालासँग छलफल गरी लगातार पहल गरिरहेको बताए ।
उनले अर्थतन्त्रमा देखिने समस्या समाधान गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । उनले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या सुधार्न सरकार, निजी क्षेत्र तथा नियमनकारी निकाय आपसमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।
समस्यामा रहेका व्यवसायीलाई सहयोग गर्नुपर्ने बेला सरकारले व्यवसायीलाई अझ समस्यामा धकेल्ने नीति बनाउन नहुने बताउँदै अध्यक्ष ढकालले केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय निकायको सहयोगमा यस्ता समस्या समाधान गर्दै उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा यस अगाडिका कमीकमजोरीले अर्थतन्त्र समस्या रहेको भन्दै उनले यस्ता कमजोरीको समयमै समाधान गनुपर्ने बताए ।
‘विगतमा आयात निरुत्साहित गर्ने र चालु पूँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको हो । यसले बाह्य क्षेत्र सन्तुलित बनाए पनि मुलुकको अर्थतन्त्र मन्दीमा गयो’, उनले भने ।
सरकार तथा केन्द्रीय बैंकले बनाउने वित्तीय तथा मौद्रिक नीतिमा महासङ्घले दिएका सुझावलाई पूर्णरूपमा नसमेटिएको उनको भनाइ छ । हालको समस्या समाधानमा पछिल्ला नीति सकारात्मक नै रहे पनि समस्या समाधानमा पूर्ण नहुने तर दीर्घकालीन पक्षमा भने पछिल्ला नीति सकारात्मक रहेको उनको भनाइ छ ।
नयाँ कार्यसमिति र अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हाल्नेबित्तिकै राष्ट्रिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संशोधित विधेयक पारित गरेको जसमा निजी क्षेत्रलाई पनि समावेश गर्ने विषयको विरोध गरिएको विवरणमा उल्लेख छ ।
त्यस्तै, यस विषयमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेताहरुलाई महासंघले ध्यानाकर्षण गराएको पनि प्रगति विवरणमा जनाइएको छ ।