काठमाडौं । सानिमा बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ २५.१३ प्रतिशतले बढेको छ ।
बैंकले गत असार मसान्तसम्म २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२ करोड बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल १२ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ २ अर्ब २० करोड र जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १७.७३ प्रतिशत लाभांश बाँड्न पुग्छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १८.४८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर २१.०२ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५५.५१ रुपैयाँ, खराब कर्जा १.३ प्रतिशत, मूल्य आम्दानी अनुपात १२.३९ प्रतिशत, बेसरेट १०.१५ प्रतिशत र सीडी रेसियो ७९ प्रतिशत रहेको छ ।