काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले विभिन्न चरणमा ऋण उठाउने भएको हो ।
जसअनुसार पहिलो त्रैमासमा ५५ अर्ब र दोस्रो त्रैमासमा ५५ अर्ब रुपैयाँ गरी ६ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।
सरकारले बजेट कार्यान्वन गर्न चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । बजेट मार्फत घोषणा गरिएको आन्तरिक स्रोत जुटाउन राष्ट्र बैंकले विकास ऋण पत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत ऋण उठाउँदै आएको छ ।
सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ आकारको बजेट ल्याएको छ । उक्त रकम जुटाउन राजस्व र वैदेशिक ऋण तथा अनुदानले समेत अपुग रकम आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख गरिएको छ ।
आन्तरिक ऋणको हिस्सा बढिरहेका बेला सरकारले थप स्रोत आन्तरिक वित्त बजारबाटै संकलन गर्ने नीति लिएको छ । जसको असर वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीमा समेत पर्ने गरेको छ ।
योसँगै यो आवको अन्तयसम्म कुल आन्तरिक ऋण १३ खर्ब ६८ अर्ब रुपैयाँ पुग्नेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आसारसम्म नेपालको कुल आन्तरिक ऋण ११ खर्ब २८ अर्ब रुपैयाँ पुगेको थियो ।
सरकारले गत वर्ष मात्रै आन्तरिक ऋणको साँवा १ खर्ब १५ अर्ब, ब्याज ६४ अर्ब ४९ करोड र कमिसन ११ करोड गरी १ खर्ब ७९ करोड ७२ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । ऋणको हिस्सा बढ्दै जाँदा भुक्तानी गर्नुपर्ने दायित्व पनि रफ्तारमा उकालो लागेको छ ।
कार्यालयका अनुसार गत असार मसान्तसम्म आन्तरिक र बाह्य गरी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो छ ऋण तालिका
राष्ट्र बैंकले पहिलो त्रैमासमा ३६४ दिनको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल, ३० अर्बको ६ वर्षे र २० अर्बको ८ वर्षे विकास ऋण पत्र मार्फत लक्ष्यको २२.९ प्रतिशत ऋण उठाउने भएको छ ।
दोस्रो त्रैमासमा १० अर्ब ट्रेजरी बिल, ४५ अर्ब विकास ऋण पत्रबाट ऋण उठाइने तालिका छ । तेस्रो त्रैमासमा १५ अर्ब ट्रेजरी बिल, ३५ अर्ब विकास ऋण पत्र, २ अर्ब ५० करोड नागरिक बचत पत्र र ५० करोड वैदेशिक रोजगार बचतपत्र गरी ५३ अर्ब ऋण उठाउने लक्ष्य छ ।
चौथो त्रैमासमा २५ अर्ब ट्रेजरी बिल, ४९ अर्ब विकास ऋणपत्र, २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र र ५० करोड वैदेशिक रोजगार बचतपत्र गरी ऋण उठाउने तालिका छ ।