जुम्लाको काँचो स्याउ बजारमा, रोक्न सिफारिस अनिवार्य

जुम्ला । यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । आज बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।

व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए । जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो ।

स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको जिसस प्रमुख आर्चायको भनाइ छ । उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको छ ।

जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन् । तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ स्थानीय व्यापारीले खरिद गर्न लागेको स्याउ रोक्न लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।

पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए।

काँचो स्याउलाई बजारमा जान नदिन सार्वजनिक सूचनासमेत जारी गरिने भएको छ । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए। जिल्लामा अहिले करिब ४ हजार २५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।रासस

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति

आइएमई लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ? Read Next

आइएमई लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?