काठमाडौं । नेपालको व्यापार घाटा उच्च रहेको छ । कुल वैदेशिक व्यापारमध्ये झन्डै ९० प्रतिशत व्यापार घाटा हुने गरेको छ । माग अनुसार वस्तुको उत्पादन बढाउन नसक्नु, आयातको तुलनामा निर्यातको हिस्सा नगन्य हुँदा वैदेशिक व्यापारको असन्तुलन बढ्दै गएको हो ।
अघिल्लो वर्ष बजेटको आकारभन्दा ठूलो व्यापार घाटा बेहोरेको नेपालको गत वर्ष पनि कुल बजेट खर्चकै हाराहारीमा व्यापार घाटा पुगेको छ । चुलिँदो व्यापार घाटाको आकारलाई आन्तरिक आयले धान्नै नसक्ने अवस्था आएको छ भने रेमिट्यान्सले त्यसको पूर्ति गरिरहेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा.शिवराज अधिकारी आयातित वस्तु आन्तरिक उत्पादनको तुलनामा सस्तो हुनु, उत्पादनभन्दा व्यापार बढ्नु र निर्यातजन्य वस्तु नहुन लगायतका कारणले व्यापार घाटा बढ्दै गएको बताउँछन् ।
‘देशभित्र आवश्यक वस्तु तथा सेवा उत्पादन नभएपछि बाहिरबाट ल्याउने हो । पछिल्लो समय भने आन्तरिक उत्पादन भइरहेका वस्तुहरू समेत जहाँबाट सस्तो हुन्छ, त्यहीँबाट ल्याउने चलन बढ्दो छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘हामीले आयातलाई आन्तरिक उत्पादनभन्दा बाहिरबाट सस्तोमा आउँछ भने ल्याउन दिने भन्ने नीति लिएपछि यस्तो हिस्सा झनै बढ्यो । बाहिरबाट ल्याउँदा सबै सस्तो हुने आन्तरिक उत्पादन महंगो हुने भएकाले ति आन्तरिक उत्पादनहरू विस्थापित हुँदै गए ।’
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यस वर्ष १७ खर्ब ६८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।
आयात निर्यात अनुपात १०.२६ प्रतिशत रहेको छ । अर्थात, नेपालले १० रुपैयाँको वैदेशिक व्यापार गर्दा ९० रुपैयाँको वस्तु आयात र १० रुपैयाँको मात्रै निर्यात गर्छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आयात निर्यात, व्यापार घाटा लगायत कुल वैदेशिक व्यापारमा केही गिरावट आएको छ ।
अघिल्लो वर्षमा भएको वस्तुको उच्च आयातले विदेशी मुद्रा संचिति दबाबमा परेपछि सरकारले गत वर्षको सुरूआतदेखि केही वस्तुको आयातमा प्रतिबन्ध र कडाइ गरेको थियो । जसको असर सरकारको आयदेखि अन्य सूचकहरूसम्म परेको थियो ।
उत्पादन वृद्धि नभएसम्म व्यापार असन्तुलन घट्दैन
आन्तरिक उत्पादन वृद्धि नभएसम्म व्यापार असन्तुलनको हिस्सा नफेरिने अर्थविद्हरू बताउँछन् । अर्थतन्त्रको आयातमुखी यस संरचनाले व्यापार घाटा मात्रै नभएर लगानी वृद्धि, रोजगारी सिर्जना र पूँजी निर्माणका अन्य क्षेत्रमा समेत असर पारेको छ ।
मानिसको बानिमा आएको फेरबदल र रेमिट्यान्सले समेत व्यापार घाटा बढाउनमा मदत पुर्याएको प्रा.डा. अधिकारी बताउँछन् । ‘पहिले व्यापार गर्नकै लागि डलर चाहिन्थ्यो । त्यो वैदेशिक ऋण तथा अनुदान लगायतबाट आउँथ्यो । अहिले डलर रेमिट्यान्सबाट आउन थालेपछि आयातको हिस्सा बढ्दै गयो,’ उनी भन्छन्, ‘अर्को उपभोगमा बानिपरेपछि त्यसलाई सुधार्न नसक्दा परनिर्भर बन्दै गयौं । यी कारणहरूले आयात बढ्दै गर्यो । त्यसअनुसार निर्यात बढाउन सकेनौं ।’
निर्यात नबढ्नुको कारण कच्चापदार्थको मूल्य महंगो हुनु भएको उनको धारणा छ । नेपालले कच्चापदार्थ आयात गरेर निर्यात गर्छ । सोही कारण यस्तो आयातमा गिरावट आउँदा निर्यात पनि घटेको देखिएको छ ।
आगामी दिनहरूमा व्यापार घाटा झनै बढ्ने अधिकारी बताउँछन् । ‘अर्कोतिर उद्योगभन्दा व्यापार गर्न सजिलो भयो । एउटा सामान आज ल्याएर बेच्दा व्यापारीले भोलि नै नाफा पाउन थाले । उद्योग स्थापना गर्न लामो समय लाग्ने भयो । उत्पादनतिर ध्यान गएन । काम गर्ने शैलीले व्यापार बढ्दै गर्यो यो अझै पनि प्रत्येक वर्ष बढ्दै जान्छ,’ उनले भने ।
अर्थशास्त्री रघुवीर विष्ट व्यापार असन्तुलनले उत्पादनदेखि उपभोगको चक्र समेत नेपालको नियन्त्रणा नरहेको बताउँछन् । ‘बढ्दो व्यापार घाटाले मुद्रा, पूँजी लगायत सबै अर्को अर्थतन्त्रमा सर्ने हो । राष्ट्रिय पूँजी निमार्ण, लगानी बढाउन सकस परेको छ,’ उनले भने ।
उद्योगको लागि आवश्यक पर्ने कच्चापदार्थ, पूँजीगत खर्च बढाउने सामग्री भन्दा विलासिताका वस्तुहरू, इन्धनसँग सम्बन्धित सामग्रीहरूको बढी मात्रामा आयात भएकोले अर्थतन्त्रमा उल्टो असर देखिएको उनले बताए । ‘व्यापार घाटा बड्दै जानुको कारण एकातिर आयात बढ्नु र अर्कोतिर उत्पादनको प्रतिस्पर्धी क्षमता न्यून रहनु हो,’ उनी भन्छन् ।
१३२ देशसँग घाटाको व्यापार
अहिले नेपालले १७० भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । तीमध्ये तीनचौथाई मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को तथ्यांक हेर्दा नेपालले १३२ देशसँग घाटाको व्यापार गरेको छ । ती देशहरूसँग पनि नेपालको निर्यातभन्दा आयात उच्च छ । युद्धका कारण अर्थतन्त्र ध्वस्त भएका कतिपय दक्षिण अमेरिकी मुलुकसँग पनि नेपालले घाटाको व्यापार गरिरहेको छ ।
सेन्ट्रल अफ्रिन रिपब्लिक, सेशेल्स, सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स, सेनेगल, लिबिया अरब जमहिरिया, अन्टार्कटिका केन्या लगातका देशसँग समेत नेपालले व्यापार घाटा बेहोर्दै आएको छ ।
इक्वेडर, सान मारिनो, उज्वेकिस्तान, बोलिभिया, ब्रुनाई दारुसलाम, कोलम्बिया, लाओ जनवादी लोकतान्त्रिक गणतन्त्र, कजाकस्तान, कोमोरोस, लेबनानसँग समेत नेपालले घाटाको व्यापार गरिरहेको छ ।
यसैगरी, सुडान, इरान, बेलारुस, स्लोभाकिया, भेनेजुएला, कोस्टारिका, लक्जमबर्ग, युगान्डा, स्लोभेनिया, हंगेरी, चिली, मंगोलिया, इजिप्ट,फिनल्याण्ड, इथियोपिया, पाकिस्तान, श्रीलंका, चेक गणतन्त्र,फिलिपिन्स, कुवेत,बहराइन, मेक्सिको, म्यानमार, भुटान, इजरायल, नेदरल्याण्ड्स,अस्ट्रिया, पोल्याण्ड, इटाली, टर्की, क्यानडा,दक्षिण अफ्रिका, हंगकंगताइवान, भियतनाम, साउदी अरेबिया, ओमान, युक्रेन लगायतका देशहरूसँग समेत व्यापार असन्तुलनको हिस्सा बढ्दो क्रममा छ ।
पछिल्ला दशकहरूमा नेपालको परनिर्भरता भारत र चीनसँग बढ्दै गएको छ । यी देशहरूसँग नेपालको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ ।
गत एक वर्षमा भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब २१ अब पुगेको छ भने चीनसँग २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । भारतबाट १० खर्ब २७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब रुपैयाँ बराबरमात्रै निर्यात गरिएको छ । यसैगरी, चीनबाट २ खर्ब २७ अर्बको वस्तु आयात गर्दा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरिएको छ ।