१ अर्ब खर्चेर फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ५०० किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई ऊर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनईए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिने छन् । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्वार गरी सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब रु १ अर्ब लाग्ने अनुमान गरिएको छ ।

केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब १४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सवमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताए ।

उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए । ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययनस्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीयस्थलको रुपमा विकास गरिनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीयस्थलको रुपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गरे । फर्पिङ जलविद्युत् केन्द १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत रु ७ लाख १३ हजार थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।

एक दिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

एक दिन पनि टिकेन नेप्सेको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

व्यापार असन्तुलनको दुष्चक्रमा नेपाल, १३२ देशसँग घाटाको व्यापार Read Next

व्यापार असन्तुलनको दुष्चक्रमा नेपाल, १३२ देशसँग घाटाको व्यापार