काठमाडौं । भारत सरकारले पेट्रोलियम कच्चा तेल (पेट्रोलियम क्रुड)मा लाग्ने कर बढाएको छ । भारत सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै केही पेट्रोलियम उत्पादनहरूमा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (विन्डफल ट्याक्स) बढाएको हो ।
अगस्ट १ तारिखदेखि लागू हुने गरी भारतले विन्डफल ट्याक्स साढे दुई गुणाभन्दा धेरैले बढाएको छ । हाल प्रतिटन १ हजार ६०० भारतीय रुपैयाँ रहेको विन्डफल ट्याक्स बढाएर प्रतिटन ४ हजार २५० भारु पुर्याएको हो ।
यससँगै भारतबाट निर्यात हुने डिजेलमा पनि कर लाग्ने भएको छ । यसअघि निर्यातमा लाग्ने शुल्क शून्य रहेको डिजेलमा अब प्रतिलिटर १ भारतीय रुपैयाँ लाग्ने भएको छ । यसले भारतीय उपभोक्तालाई फरक नपर्ने भए पनि भारतबाट निर्यात भएर पुग्ने गन्तव्य मुलुकका उपभोक्तालाई भने यसले असर गर्नेछ ।
बढाइएको कर पेट्रोल र हवाई इन्धनको निर्यातमा भने लाग्ने छैन । भारतले गत जुलाइदेखि कच्चा तेल उत्पादकहरूमा विन्डफल कर लगाएको थियो । भारतले पेट्रोलियम कच्चा तेलमा विन्डफल कर शून्यबाट बढाएर १ हजार ६०० भारतीय रुपैयाँ प्रतिटन पुर्याएको थियो। निजी रिफाइनर्सहरूले आन्तरिक बजारमा बेच्नुको सट्टा विदेशी बजारहरू धेरै निर्यात गर्न थालेपछि सरकारले विन्डफल कर बढाएको थियो ।
भारतले विन्डफ ट्याक्स बढाएसँगै त्यसको सिधा नेपालमा पनि पर्ने देखिएको छ । नेपाले भारतीय आयल निगमबाट प्रशोधित तेल किन्दै आएको छ । यद्यपि, नेपालले आइओसीसँग ५ वर्षको लागि सम्झौता गरेकाले बढाइएको कर लाग्ने/नलाग्ने अहिले नै एकीन नभएको निगमले जनाएको छ । अब आइओसीसँग कुरा भएपछि मात्र बढेको कर लाग्ने/नलाग्ने टुंगो हुने नेपालको भनाइ छ ।