अफ सिजनमा पनि सौराहामा पर्यटकको आवगमन उत्साहजनक, व्यवसायी उत्साही

चितवन। बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन्।

साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ। यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ। यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि सौराहाका व्यवसायी उत्साहित भएका हुन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गङ्‍गा गिरीका अनुसार अहिले सौराहामा दैनिक १ हजारदेखि १ हजार २ सयसम्म पर्यटक रहेको अनुमान छ। तीमध्ये आधा विदेशी छन्। विदेशीमा पनि चिनियाँको संख्या बढ्दो छ।

सौराहामा १२५ होटल छन्। ती होटलको क्षमता ६ हजार २०० जनाको रहेको छ। क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो संख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ।

यस बेला चितवन राष्ट्रिय निकुञ्‍जभित्र जंगल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ। सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन्।

अहिले दैनिक १०० जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्‍चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए। यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन्।

कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ। क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो संख्यालाई राम्रो मान्छन्।

कतिपय होटलमा कार्यक्रम चलिरहेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन्। उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको संख्या राम्रो छ।’

चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमशः पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्‍वस्त छन्। होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्‍न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए।

उनले भने, ‘संकेत राम्रो छ। अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ।’ विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उनको बुझाइ छ। यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्‍ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन्।

चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो। चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ। पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्‍चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन्।

भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीको छ।रासस

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९० प्रतिशत सकियो, ११ वटा संरचना निर्माण पूरा Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९० प्रतिशत सकियो, ११ वटा संरचना निर्माण पूरा

लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको लाभांश घोषणा Read Next

लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको लाभांश घोषणा