काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार (साउन ८ गतेसम्म) सुरुङ खन्ने काम ८९.७० प्रतिशत सम्पन्न भएको हो । यद्यपि, समग्रमा आयोजनाको ५६.८९ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) मध्ये हालसम्म कुल ४ हजार ९३३.५५ मिटर निर्माण सम्पन्न भएको हो ।
आयोजनाका प्रवक्ता तथा इन्जिनीयर रमेश कोइरालाले २ हजार ६८८ मिटर मुख्य सुरुङ मध्ये हालसम्म २ हजार १७२.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ९७३.८० मिटर र धादिङतर्फ ११९९ मिटर मुख्य टनेल खनिएको उनले जानकारी दिए ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार ५१८.८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १३०९.७० मिटर र धादिङतर्फ १२०९.१० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
आयोजना अन्तर्गत हालसम्म कुल ४ हजार ४६९१.६ मिटर सुरुङमार्ग (मुख्य र आपतकालीन गरी), १२६ मिटर वर्किङ अडिट र ११५.९५ क्रस प्यासेज गरी कुल ४ हजार ९३३.५५ मिटरको काम सम्पन्न भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । त्यसैगरी, कुल ११५.९५ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ६०.५० मिटर र धादिङतर्फ ५५.४५ मिटर निर्माण गरिएको छ । अब १३.०५ मिटर क्रस प्यासेज निर्माण गर्न बाँकी छ ।
हालसम्म समग्रमा ५६.८९ प्रतिशत भौतिक प्रगति र ५९.३९ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।
आपतकालीन सुरुङ बे्रक थ्रु हुन ३८ मिटर बाँकी
आयोजना अन्तर्गतको आपतकाली सुरुङ ब्रेक थ्रु हुन अब ३८.२ मिटर मात्र बाँकी रहेको छ । कुल २५५७ मिटर आपतकालीन सुरुङ खन्नुपर्नेमा २५१८.८ मिटर सुरुङ खनिसकिएको छ ।
यस्तै, मुख्य सुरुङमार्ग ब्रेक थ्रु हुन अब ५१६ किटर बाँकी रहेको छ । प्रवक्ता कोइरालाले सम्भवतः अबको एक महिना भित्रै आपतकालीन सुरुङको ब्रेक थ्रु हुने बताए । मुख्य सुरुङ भने कात्तिकसम्म ब्रेक थ्रु हुने लक्ष्य राखिएको उनले बताए । ‘अहिले धमाधम सुरुङ खन्ने काम भइरहेको छ । आपतकालीन एक महिना भित्रै र मुख्य सुरुङ दशैं तिहारसम्म ब्रेक थ्रु गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
उनले अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको बताए । मुख्य सुरुङमा फिनसिङको काम ४२.२० प्रतिशत सकिएको उनले जानकारी दिए । हालसम्म मुख्य सुरुङको ११०६.५५ मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।
११ वटा संरचना निर्माण पूरा
नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने ११ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको प्रवक्ता कोइरालाले बताए । उनले फ्लाइओभर निर्माणको काम पनि भइरहेको बताए । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ ।
यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ । नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।