विदेशी मदिराका पारखी नेपाली, एक वर्षमा ३ अर्बको आयात

काठमाडौं । नेपालीको विदेशी मदिरा प्रतिको मोह बढ्दै गएको छ । सरकारले गत आर्थिक वर्ष (पुससम्म) आयातमा प्रतिबन्ध लगाए पनि झन्डै ३ अर्बको मदिरा आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार प्रतिबन्धका बाबजूद गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९८ करोड ५३ लाख ३३ हजार रुपैयाँ बराबरको मदिरा आयात भएको छ । उक्त मूलयमा विभिन्न ब्राण्ड र भेराइटीका ३३ लाख ५६ हजार १५१ लिटर मादक पदार्थ नेपाल भित्रिएको हो ।

६ महिना प्रतिबन्धको बाबजूद अघिल्लो वर्षको तुलनामा जम्मा ७३ करोड रुपैयाँ कमको मात्र मदिरा आयात भएको हो । अघिल्लो आव २०७८/७९ मा कुल ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको मदिराजन्य वस्तु आयात भएको थियो । सो मूल्यमा ६७ लाख ७८ हजार ३७१ लिटर मादक पदार्थ आयात भएको थियो ।

नेपालमा मुख्य गरी विदेशबाट ह्वीस्की, बियर, भोड्का, वाइन, जीन, रम लगायत अल्कोहलिक पद्धार्थ आयात भएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियम, क्युवा, चीन तथा खाडीका मुलुकबाट मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष सबैभन्दा धेरै २ अर्ब ८४ लाख ७ हजार रुपैयाँको ह्विस्की आयात भएको छ । सो मूल्यमा ८ लाख ७६ हजार ७४३ लिटर ह्विस्की आयात भएको विभागले जनाएको हो । नेपालमा स्कटिस ह्वीस्की, जोनी वाकर, सिवास रिगल, अमेरिकी जेडी लगायत ह्वीस्की प्रख्यात छन् ।

त्यस्तै, गत वर्ष २४ करोड ९१ लाख १३ हजार रुपैयाँ बराबरको वाइन आयात भएको छ । सो मूल्यमा ४ लाख ७१ हजार ५२६ लिटर वाइन आयात भएको हो ।

यसैगरी, गत वर्ष ४ करोड ४२ लाख ८१ हजार रुपैयाँको ३४ हजार ५४६ लिटर भोड्का, २ करोड ३३ लाख ४५ हजार रुपैयाँको ८९ हजार ९७२ लिटर बियर, १ करोड ३२ लाख ८५ हजार रुपैयाँको ४ हजार ५७२ लिटर रम आयात भएको छ ।

निर्यात दोब्बरले बढ्यो

गत वर्ष मदिरा निर्यात झन्डै दोब्बरले बढेको छ । विभागका अनुसार गत वर्ष नेपालबाट कुल २८ करोड ७३ लाख ७२ हजार रुपैयाँ बराबरको ३१ लाख ३७ हजार ७२५ लिटर मदिरा निर्यात भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो । अघिल्लो आव २०७८/७९ मा कुल १५ करोड १० लाख ६६ हजार रुपैयाँ बराबरको १२ लाख ५५ करोड ७५५ लिटर मादकपदार्थ जन्यवस्तु निर्यात भएको थियो ।

देशभर मदिरा पदार्थको बजार ४० अर्बभन्दा बढीको रहेको छ । ५५ वटाभन्दा बढी रक्सी बनाउने उद्योग छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा १४ वर्षदेखि ६० पर्षे उमेरका २९ प्रतिशतले मदिरापान गर्ने गरेको कुरा एक अनुसन्धानले देखाएको छ । त्यसको आधार मान्ने हो भने अहिले नेपालमा ४० प्रतिशतभन्दा बढी मदिरापान गर्नेहरू हुनसक्छन् ।

सरकारले मदिरा उत्पादन तथा आयातबाट भन्सार, अन्तःशुल्क, भ्याट, राजस्व, आयकरसहित असुल गर्दै आएको हो । त्यसमध्ये अन्तःशुल्क तर्फको मदिराबाट मात्र वर्षेनी २५ अर्बभन्दा बढी राजस्व उठ्ने गरेको छ ।

सरकारले घरेलु रक्सी उत्पादनलाई कानुनी रुपमा प्रतिबन्ध लगाइएको छ । यसको फुकुवा गर्न धेरै पटक पहल भए पनि केही हुन सकेको छैन ।

 

साउन २३ देखि प्रिमियममा आइपीओ बेच्दै रिलायबल लाइफ, प्रतिकित्ता भाउ  २५७ रुपैयाँ Read Previous

साउन २३ देखि प्रिमियममा आइपीओ बेच्दै रिलायबल लाइफ, प्रतिकित्ता भाउ २५७ रुपैयाँ

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९० प्रतिशत सकियो, ११ वटा संरचना निर्माण पूरा Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९० प्रतिशत सकियो, ११ वटा संरचना निर्माण पूरा