काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३.३९ प्रतिशतले घटेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ कम हो । लघुवित्तले। अघिल्लो वर्षमा २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा झिनो सुधार भए पनि लघुवित्तको व्यवसायसँगै संचालन आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा ठूलो गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेर ४३ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन आम्दानी २३.४२ प्रतिशत घटेर २८ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तको सापटी २१.०७ प्रतिशत र कर्जा लगानी २६.३३ प्रतिशत घटेको छ। हाल १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १८ करोड ८ लाख र जगेडा कोषमा ४३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ छ । यसबाट लघुवित्तले सेयरधनीलाई १५.४३ प्रतिशत लाभांश बाँड्न पुग्छ ।
नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षमा २६.६५ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँले घटेर १७.१६ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३७.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.९१ गुणा, खराब कर्जा ०.६६ प्रतिशत रहेको छ ।