राजधानीमा बैंकिङ एक्पो शुरु

काठमाडौं । बैंक, बीमा र पूँजी बजार सम्बन्धी वृहत प्रदर्शनी मेला (बैंकिङ एक्सपो) शुरु भएको छ । भृकुटीमण्डपमा भएको यो मेला २ दिनसम्म चल्ने छ ।

 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले औपचारिक रुपमा उद्घाटन गरेका हुन । एक्स्पो उद्घाटन गर्दै गभर्नर नेपालले पैसाको सदुपयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे ।गभर्नर नेपालले घरघरमा पैसा पुगिसकेको तर त्यसको सदुपयोग भने गर्न नसकेको बताए ।

 

उनले विविध कारणले १४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगे पनि ७ सय ४१ तहमा वाणिज्य बैंककै शाखा पुगिसकेको बताए । ‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्, हरेक स्थानीय तहमा वाणिज्य बैंक पुग्नु भनेको घरघरमा पैसा पुग्नु हो’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’

 

गभर्नर नेपालले नेपालमा उद्यमशीलताको प्रसस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरेर विदेश जाने प्रचलनप्रति पनि दुःख व्यक्त गरे ।

 

‘दक्षिण कोरिया नै जान खोज्छन्, विदेश नै जानु पर्छ रातभर लाइन लागेर यहाँबाट लाठिचार्ज गरेर विदेश पठाउनु पर्ने अवस्था छ’ गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन्, हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’ नेपालमै भएका प्रसस्त सम्भावनाहरु नचिन्दा समस्या भएको उनको भनाई छ ।

 

सोच नै सकारात्मक नभएका कारण सर्वसाधारणमात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको गभर्नर नेपालले बताए । बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा पनि उनले गुनासो गरे ।

 

बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरु उद्यमशील कसरी बन्ने भन्ने बारे थाहाँ नपाएको भन्दै आफ्नो सेवाबारे जनमानसमा पुर्याउन उनले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिए ।

 

मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् । कार्यक्रममा ४ दर्जन बढी बैंक, वित्त, बीमा कम्पनी लगायतका स्टलहरु रहेका छन् ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ सोमबार उद्घाटन हुँदै Read Previous

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ सोमबार उद्घाटन हुँदै

लक्ष्मी बैंकको डिबेन्चर बाँडफाँड Read Next

लक्ष्मी बैंकको डिबेन्चर बाँडफाँड