काठमाडौं । सवारीसाधन (हायरपर्चेज) कर्जाको ब्याजदर सस्तिन थालेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता (लगानी योग्य रकम) र नीतिगत व्यवस्थाले कर्जाको ब्याजदर घट्न थालेको हो ।
गत फागुन यता बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । अहिले प्रणालीमा झन्डै ४ खर्ब बढी लगानी योग्य रकम छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले गत कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । एकातिर निक्षेप बढीरहने र अर्कोतर्फ कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्न पाउने भएपछि बैंकहरूले सवारी कर्जाको पनि ब्याजदर घटाएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । निक्षेपको लागत घटेसँगै बैंकहरूको आधारदर (बेसरेट) पनि घट्दो क्रममा छ । सोही घटेको बेसरेटलाई आधार मान्दै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउन थालेका हुन् ।
केही महिना अघिसम्म अटो कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो भने उच्च जोखिमभारका कारण बैंकहरूले कर्जा दिन समेत चासो देखाएका थिएनन् । अहिले सो व्यवस्थामा झिनो सुधार देखिन थालेको छ ।
असार मसान्तसम्म अधिकांश बैंकको बेसरेट घटेको छ । जसले गर्दा बैंकहरूले अहिले औसतमा १४ प्रतिशत हाराहारी ब्याजदरमै सवारी कर्जा दिन थालेको छन् । बैंकहरूले आधारदरमा अहिले २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर अटोलोन सार्वजनिक गरेका छन् ।
यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको नीतिगत लचकताले पनि अटो लोन लिन चाहनेहरूलाई केही सहज बनाएको छ । राष्ट्र बैंकले २५ लाखसम्मको सवारी कर्जाको जोखिमभार १०० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो प्रकृतिको कर्जामा बैंक तथा वित्तीय संस्थाले १५० प्रतिशत जोखिमभार राखेर ऋण दिँदै आएका थिए ।
ब्याजदर केही घट्न थाले पनि अटो बजार भने सुस्त नै छ । समग्र अर्थतन्त्रमा आएको संकुचनका कारण अटो बजार पनि प्रभावित बनेकाे छ ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
सवारी कर्जामा सबैभन्दा कम कृषि विकास बैंकको ब्याजदर रहेको छ । यस बैंकले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर १२.१ प्रतिशत यस्तो कर्जाको ब्याजदर तय गरेको छ । असार मसान्तसम्मको बैंकको आधारदरलाई आधार मान्दा बैंकको यस्तो ब्याजदर निकालिएको हो ।
यस्तै, सरकारी स्वामित्वकै नेपाल बैंकको आधारदर ८.३९ प्रतिशत छ भने त्यसमा ४.५० प्रतिशतसम्म प्रिमियम थपेर १२.९ प्रतिशत ब्याजदर सवारी कर्जाको बैंकले तोकेको छ ।
सबैभन्दा उच्च ब्याजदर हिमालयन बैंकको १५.९ प्रतिशत छ । यस बैंकले १०.९२ प्रतिशत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराइने जनाएको छ ।
यसैगरी, प्राइम कमर्सियल, कुमारी, एनएमबी, सानिमा, ग्लोबल, प्रभु र एनआइसी एसीया बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिसमयम थपेर १५ प्रतिशतसम्म सवारी कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् ।
सिटिजन्स, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट मेगाा, एभरेष्ट र सिद्धार्थ बैंकको सवारी कर्जाको ब्याजदर १४ प्रतिशतसम्म छ भने राष्ट्रिय वाणिज्य र नबिल बैंकको १३ प्रतिशतसम्म छ ।
नोट : प्रस्तुत सवारी कर्जाको ब्याजदर बैंकहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको विवरणबाट लिइएको हो ।