काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ। सन् २००९ मा स्थापना भई सेवा सुरू गरेको कम्पनीले आफ्नो १४ औं वार्षिकोत्सव मनाएको हो ।
कम्पनीले १४ वर्षको यस व्यवसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, ग्राहक, प्राविधिक, व्यवस्थापन समूह लगायतलाई कम्पनीले धन्यवाद प्रदान गरेको छ।
यस्तै, विगत वर्षहरू झैं आगामी दिनहरूमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा राखेको कम्पनीले बताएको छ।
हाल देशभरिका ७४ जिल्लाहरूमा १०० वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले ग्राहकहरूको सुविधाको लागि आफ्नै सीडीएन सर्भर जडान गरी फेसबुक, युट्युब, नेटफ्लिक्स, गुगल लगायतका सामाजिक सञ्जालहरूमार्फत् गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्दै आइरहेको छ।
कम्पनीले विराटनगर र काठमाडौंमा डेटा ब्याकअप सेन्टर स्थापना गरेको छ । त्यस्तै, सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ।
कम्पनीकाअनुसार यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरूलाई आवश्यकीय इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्वमार्फत् देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ।
कम्पनीको १४औं वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट प्लानहरू छुटमा वितरण गर्दै आएको कम्पनीले बताएको छ।