कर नबुझाउने ४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो ।

तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए । ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ,’ उनले भने ।

कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए । उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ ।

बहत्तर हजार बढी करदाता

तनहुँमा ७२ हजार ४४७ करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा करिब १० प्रतिशत करदाता वृद्वि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए।

पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्वि हुँदै गएको छ । प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार २८४ र व्यापारीतर्फ २३ हजार ४३७ जना रहेका छन् । रासस

दाङमा २९८ घरेलु उद्योग बन्द Read Previous

दाङमा २९८ घरेलु उद्योग बन्द

युरोपेली केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, २२ वर्ष यताकै उच्च विन्दुमा पुग्यो Read Next

युरोपेली केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, २२ वर्ष यताकै उच्च विन्दुमा पुग्यो