दाङमा २९८ घरेलु उद्योग बन्द

घोराही । दाङमा आर्थिक वर्ष २०७९/८० मा २९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताए ।

जिल्लामा आव २०७९÷८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पूँजीतर्फ रु १ अर्ब ४१ करोड एक लाख लगानी भएको छ । यसबाट रु ६३ लाख ३१ हजार राजश्व सङ्कलन भएको प्रमुख गुरुङले बताए । जिल्लामा हालसम्म ११ हजार ३८२ घरेलु तथा साना उद्योग रहेका छन् ।

विसं २०७९ असार मसान्तसम्म १० हजार ९३८ र आव २०७९÷८० मा ७४२ उद्योग थपिएको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा ७१७ उद्योग नवीकरण भएका छन् । ८१२ उद्यमी थपिएका छन् । २ हजार ५५३ जनाले रोजगार प्राप्त गरेको तथ्याङ्क छ । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । यसमध्ये ६९२ जनाले रोजगार प्राप्त गरेका छन् । १८९ उद्योग नवीकरण गरिएको उनले बताए ।

कृषि तथा वनजन्य उद्योगमा ४३२ दर्ता भएका छन् । यसबाट १ हजार १६८ जनाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् । त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक २४० उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ ८२७ फर्म दर्ता भएका छन् ।

कोभिड–१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । रासस

हवाई भाडामा भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर Read Previous

हवाई भाडामा भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

कर नबुझाउने ४६ व्यवसायीको बैंक खाता रोक्का Read Next

कर नबुझाउने ४६ व्यवसायीको बैंक खाता रोक्का