काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा १ सय १५ वटा नयाँ उद्योग दर्ता भएका छन् । कूल दर्ता भएका उद्योगमध्ये १०३ वटा वैदेशिक लगानीका रहेका छन् ।
उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्ममा दर्ता भएका यी उद्योगमा कूल ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस अवधिमा कृषि क्षेत्रमा ३, उर्जामा १९, सूचना प्रविधिमा ५, उत्त्पदन मूलकमा २४, सेवामूलकमा १८ र पर्यटनमा ४६ वटा उद्योग दर्ता भएका हुन् । उक्त उद्योगहरु सञ्चालनमा आए पछि ७ हजार ४ सय २५ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।
कात्तिम महिनामा मात्र ३२ वटा उद्योग दर्ता भएका हुन् । यी उद्योगमा १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै उर्जा क्षेत्रका ३, सूचना प्रविधि ३, उत्पादनमूलक क्षेत्रमा ४, सेवामूलक ६, पर्यटन १६ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।
उर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी
चालू आवको कात्तिक महिनासम्ममा उर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव आएको छ । । कात्तिक २८ गतेसम्ममा उर्जामा ४५ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस अवधिमा अवधिमा उर्जा क्षेत्रमा १९ उद्योग दर्ता भएका हुन् । उक्त उद्योगहरु सञ्चालनमा आएपछि ७ सय ४९ ले रोजगार पाउने अनुमान गरिएको छ ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी उद्योग दर्ता
यस अवधिमा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगहरु सबैभन्दा बढी दर्ता भएका छन् । विभागको तथ्यांक अनुसार चालू आवको कात्तिम महिनासम्ममा कूल दर्ता भएका १ सय १५ उद्योगमध्ये ४६ वटा उद्योग पर्यटन क्षेत्रका रहेका छन् ।
यी उद्योगमा ८ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरु सञ्चालनमा आएपछि २ हजार २ सय ७४ जनाले रोजगार पाउने छन् ।
उत्पादनमूलक क्षेत्रमा २४ उद्योग दर्ता भएका छन् भने १० अर्ब ६३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । यी उद्योग सञ्चालनमा आएपछि २ हजार १ सय ११ जनाले रोजगार पाउने छन् ।
यस्तै, सेवामूलक क्षेत्रमा १८ उद्योग दर्ता भएका छन् । यिनमा कूल ३ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ । यी उद्योगहरु सञ्चालनमा आएपछि १ हजार ६ सय ८८ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।
यस्तै, सूचना तथा प्रविधि क्षेत्रमा कूल ७६ करोड रुपैयाँ पूँजीका ५ उद्योग दर्ता भएका छन् भने कृषिक्षेत्रमा ३३ करोड रुपैयाँ पूँजीका ३ उद्योग दर्ता भएका छन् ।