चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । काठमाडौंको चन्द्रागिरि हिल्समा रहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।

 

भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई पुरस्कार प्रदान गरेका हुन् ।

 

कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।

 

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चन्द्रागिरि हिल्स रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

 

हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

 

पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्सका सञ्चालक ढकालले यो अवार्ड चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए ।

 

उनले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकहरुको आगमनमा बृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चार महिनामा ११५ उद्योग दर्ता, उर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी Read Previous

चार महिनामा ११५ उद्योग दर्ता, उर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ सोमबार उद्घाटन हुँदै Read Next

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ सोमबार उद्घाटन हुँदै