काठमाडौं । हाल सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष ०७६र७७ को पहिलो त्रैमासिक वित्तिीय विवरण सार्वजनिक गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार ३ वटा बैंकहरुले पहिलो त्रैमासमै अर्बभन्दा बढी खुद नाफा कमाउन सफल भएका छन् ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, निजी क्षेत्रका नबिल र एनआइसी एशिया बैंकले पहिलो त्रैमासमै अर्ब बढी नाफा कमाएका हुन् ।

सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो नम्बरमा रहन सफल भएको छ । वाणिज्यले समीक्ष अवधिमा १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८४ लाख ६३ हजार रुपैयाँले धेरै हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख नाफा आर्जन गरेको थियो ।
सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । यसले पसहलो त्रैमासमा १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ कमाएको छ ।
नबिलले गत वर्षको तुलनामा यस वर्ष नाफामा ७ प्रतिशतले सुधार गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
पछिल्लो समय व्यवसाय विस्तारमा निकै आक्रामक बन्दै आएको एनआईसी एशिया बैंक धेरै नाफा कमाउने त्रैंकको तेस्रो नम्बरमा रहेको छ । बैंकले चालू आवको पहिलो ३ महिनामा १ अर्ब ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
यो गत आवको यसै अवधिको तुलनामा ३४ प्रतिशतले बढी हो । एनआइसीले गत आवको पहिलो त्रैमासमा ७५ करोड २६ लाख खुद मुनाफा कमाएको थियो ।