बैंकलाई छैन निक्षेपको चिन्ता, वर्षभरी ऋण दिने पैसा अभाव नहुने

काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तरलता (लगानीयोग्य रकम)अभावले कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थालाई यो वर्ष भने सहज हुने देखिएको छ ।

प्रणालीमा थुप्रिएको पर्याप्त तरलता र नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य घटाउँदा बैंकहरूलाई कर्जा लगानी गर्न रकम अभाव नहुने देखिएको हो ।

गत वर्ष आर्थिक गतिविधि र मागमा आएको संकुचनले बैंकहरूले कर्जा लगानी गर्न नसक्दा अहिले बैंकिङ प्रणालीमा झन्डै ४ खर्ब रुपैयाँ पैसा थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु वर्ष निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ ।

सो अनुसार यो वर्ष बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६२ अर्ब कर्जा लगानी गर्नुपर्छ । अहिले नै प्रणालीमा ४ खर्ब रहेको र आगामी दिनमा पनि निक्षेप थपिने हुँदा लगानी योग्य रकम अभाव नहुने बैंकरहरू बताउँछन् । यो वर्ष बैंकहरु निक्षेप खोज्न दौडिनु नपर्ने, बरु कर्जा लगानीमा केन्द्रित हुनुपर्ने देखिएको छ ।

अर्थतन्त्रमा आएको संकुचनले यो वर्ष ह्वात्तै कर्जा माग बढ्ने देखिँदैन । प्रणालीमा रहेको स्रोत र सोही अनुसार कर्जाको माग वृद्धि भए मौद्रिक नीतिले तय गरेको लक्ष्य पनि भेटिने उनीहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य अहिलेको स्रोतको हिसाबले भेटिने बताए ।

‘साढे ११ प्रतिशतको ग्रोथ गर्नेभन्ने लक्ष्य छ । त्यो लक्ष्य अहिलेको कर्जा प्रवाहको अवस्था हेर्दा ठीकैसम्म जाने देखिन्छ । तर, क्यापिटल कम भएको बैंकहरूले कसरी गर्ने भन्ने कुरा छ, अन्यथा कर्जा लगानीको यो लक्ष्य स्रोतको हिसाबले भेट्ने नै देखिन्छ,’ उनले भने ।

गत वर्ष राष्ट्र बैंकले १२.६ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य लिएकोमा ३ प्रतिशत मात्रै लगानी भएको थियो । यो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे अहिलेको अवस्था हेर्दा यो वर्ष कर्जा लगानीमा स्रोत अभाव नहुने बताउँछन् । ‘अहिलेको तरलताको अवस्था हेर्दा लगानीका लागि स्रोतको समस्या होला जस्तो लाग्दैन । ८३ प्रतिशत सीडी रेसीयो छ,’ उनले भने ।

विगतका वर्षहरू हेर्दा कर्जा विस्तारको यो लक्ष्य भेट्टाउन गाह्रो नभएको उनले बताए । ‘कर्जा विस्तारको यो लक्ष्य भेट्टाउन गाह्रो पनि होइन् । गत वर्ष साढे तीन/चार प्रतिशतको हाराहारीमा वृद्धि भयो । अघिल्ला वर्षहरूमा विस्तार भएको कर्जाको तुलनामा यो लक्ष्य धेरै होइन,’ उनी भन्छन् ।

गत वर्षको ६ महिना तरलता अभावले लगानी गर्न नसकेका बैंकहरूले त्यसपछिको ६ महिना माग नभएर लगानी गर्न सकेनन् । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको औषत सीडी अनुपात ८३ प्रतिशतको हाराहारीमा छ ।

विद्यमान व्यवस्था अनुसार बैंकहरूले ९० प्रतिशतको सीडी अनुपात कायम गरेर कर्जा लगानी गर्न सक्छन् । त्यसअनुसार प्रणलीमा अहिले झन्डै ४ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बैकर बताउँछन् ।
वर्षभरी ५ खर्ब ६३ अर्ब कर्जा लगानीको लक्ष्य र अहिले नै साढे तीनखर्ब बढी तरलता हुँदा करिब वर्षभरीलाई नै पुग्ने स्रोत भएको वित्तीय क्षेत्रका जानकारको भनाइ छ ।

अहिलेमै अवस्थामा पनि आधा दर्जन बैंकहरू पूँजी कोषको दबाबले थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा छन् । त्यसैगरी, राष्ट्र बैंकले चालु साउनदेखि काउन्टर साइक्लिकल बफर व्यवस्था लागू गर्ने भनेको छ ।

जसका कारण अहिले ११ प्रतिशत रहेको पूँजीकोषमा काउन्टर साइक्लिकल बफर २ प्रतिशत लागू गर्दा बैंकहरूलाई थप कर्जा लगानी गर्न असहज हुने वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

गत वर्ष तरलता अभाव हुँदा बैंकहरूलाई स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिएको थियो । साउनदेखि सो व्यवस्था हटाइएको छ । गत वर्ष ५खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यो वर्ष पनि निक्षेप संकलन र हाल कायम रहेको प्रशस्त स्रोतका कारण तरलता अभावको सामना गर्नुपर्ने अवस्था नआउने बैंकरहरूको भनाइ छ ।

नेप्सेमा लगातार तेस्रो दिन गिरावट Read Previous

नेप्सेमा लगातार तेस्रो दिन गिरावट

नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस Read Next

नयाँ बसपार्कबाटै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस