काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । अघिल्ला दुई दिनमै ६२ अंकले घटेको नेप्से आज ८ अंकले घटेको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारेपछि लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।
लगानीकर्ताले सेयर धितोकर्जाको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि राष्ट्र बैंकले सुनुवाइ नगर्दा लगानीकर्ताको मनोबल गिरेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोडले घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।
आज ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ९ करोड र नेपाल पुनर्बीमा कम्पनीको ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज जाल्पा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.४९ प्रतिशतले घटेको छ भने युनिलिभरको ६.३३ प्रतिशतले घटेको छ ।