पेट्रोलियम पदार्थ आयातमा गिरावट, सवारीसाधन बढ्दा पनि किन घट्यो खपत ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पद्धार्थको आयातमा गिरावट आएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पद्धार्थ (डिजेल, पेट्रोल र एपीजी ग्यास)को आयात औसतमा १४ प्रतिशतले घटेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष कुल २६ लाख ३ हजार ६४१ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । यो अघिल्ले आर्थिक वर्ष २०७८/७९ को तुलनामा ४ लाख २५ हजार ६९२ किलोलिटर कम हो । अघिल्लो वर्ष ३० लाख २९ हजार ३३४ किलोलिटर पेट्रोलियम पद्धार्थ आयात भएको थियो ।

परिमाण घटे पनि इन्धन आयातका लागि बाहिरिने रकम पनि घटेको छ । अघिल्लो वर्ष कुल ३ खर्ब ५ अर्ब रुपैयाँ बढीको पेट्रोलियम पद्धार्थको आयात भएकोमा गत वर्ष २ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । सरकारले गत वर्ष पेट्रोलियम पद्धार्थ आयातबापत १ खर्ब २ अर्ब राजस्व प्राप्त गरेको छ ।

गत वर्ष डिजेलको आयातमा सबैभन्दा धेरै १९.७४ प्रतितशले घटेको छ । अघिल्लो आव २०७८/७९ मा कुल १७ लाख ५४ हजार ९३३ किलोलिटर डिजेल आयात भएकोमा गत वर्ष १४ लाख ८ हजार ४९४ किलोलिटर आयात भएको छ । डिजेल आयातका लागि मात्रै गत वर्ष १ खर्ब ५३ अर्ब रुपैयाँ विदेशिएको छ ।

त्यस्तै, गत वर्ष पेट्रोल आयात ७.८१ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७८/७९ मा कुल ७ लाख ८५ हजार ५३६ किलोलिटर पेट्रोल आयत भएकोमा गत वर्ष ६ लाख ८० हजार ८०७ किलोलिटर आयात भएको छ । गत वर्ष ६६ अर्ब ८४ करोड रुपैयाँ बराबरको पेट्रल आयात भएको छ ।

त्यसैगरी, गत वर्ष खाना पकाउने एलपीजी ग्यासको आयात ४.०१ प्रतिशतले घटेको छ । गत वर्ष कुल ५१ करोड ५३ लाख किलो ग्यास आगत भएको छ । जबकि अघिल्लो आव २०७८/७९ मा ५३ करोड ५८ लाख किलो एलपी ग्यास आयात भएको थियो । गत वर्ष ग्यास आयातका लागि ५८ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ ।

किन घट्यो खपत ?

गत वर्ष पेट्रोलियम पद्धार्थको खपत घट्दा आयात पनि घटेको हो । गत वर्ष डिजेल, पेट्रोल खपत गर्ने १ लाख १० हजार (दुईपांग्रे र चारपांग्रे) सवारी साधन भित्रिए पनि पेट्रोलियम पद्धार्थको खपत बढ्नुको सट्टा झन् घटेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटनुमा विभिन्न कारण रहेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार तेलको मूल्य वृद्धि, नेपालमा भन्दा भारतमा डिजेल पेट्रोलको भाउ सस्तो हुनु, विद्युतीय सवारीको संख्या बढ्नु, खाना पकाउन इन्डक्सन चुल्होको प्रयोग बढ्दै जानु, अर्थतन्त्रमा मन्दी आउँदा ठूला उद्योगहरू पूर्ण क्षमतामा नचल्नु लगायत कारणले पेट्रोलियम पद्धार्थको खपत घटेको हो ।

उनले विगतमा भारतमाभन्दा नेपालमा डिजेल,पेट्रोलको मूल्य कम हुने भएकाले भारतीय समेत नेपालमा आएर इन्धन भर्ने गरेको तर, गत वर्ष भारतमा तेलको भाउ सस्तो भएकाले सीमा क्षेत्रका नेपाली भारततर्फ गएर इन्धन भरेकोले खपत घटेको बताए ।

‘हाम्रोमा डिजेल र पेट्रोल धेरै खपत हुने भनेकै बोर्डर साइडमा हो, भारतले उता पट्टी मूल्यमा छुट दिए पछि नेपालमा खरिद गर्नेले समेत भारतकै छेउछाउमा गएर किन्न थाले त्यसैले यता कम खपत भएको देखियो, कम खपत भएपछि आयात पनि गर्नु परेन,आयात स्वत घट्ने भयो,’ ठाकुरले चाणक्य पोष्टसँग भने ।

यस्तै, विकास निर्माणमा प्रयोग हुने सवारीसाधन तथा उपकरण संचालन कम हुँदा पनि खपत घटेको हो । अर्थतन्त्रमा आएको मन्दीका कारण डण्डी, सिमेन्ट लगायत ठूला उद्योग पूर्ण क्षमतामा संचलन हुन सकेनन् । जसकारण डिजेलको खपतमा भारी गिरावट आएको उनले बताए । साथै, केही उद्योगहरूले मागेजति बिजुली पाउँदा पनि खपत घटेको हो ।

उनले विद्युतीय सवारीको संख्या बढ्दै जाँदा पनि पेट्रोल खपतमा कमी आएको बताए । गत वर्ष ४ हजार बढी चारपांग्रो विद्युतीय सवारी आयात भएका छन् ।

प्रवक्ता ठाकुरले खाना पकाउन ग्यासको खपत पनि ५ प्रतिशतले घटेको बताए । उनले उपभोक्ताले खाना पकाउन ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्ने क्रम बढ्दै गएको बताए ।

 

भारतबाट ५१ करोडको कोदो आयात, साढे ७ करोडको फर्सी Read Previous

भारतबाट ५१ करोडको कोदो आयात, साढे ७ करोडको फर्सी

एनआइसी एशिया क्यापिटलको बम्पर लाभांश घोषणा Read Next

एनआइसी एशिया क्यापिटलको बम्पर लाभांश घोषणा