काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन ३.५९ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्ष १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १ अर्ब १४ करोड रुपैयाँ बढी हो । सो आवमा बीमा कम्पनीहरूले कुल ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
गत वर्ष १४ निर्जीवन बीमा कम्पनीहरू मध्ये ११ वटाको व्यवसाय बढेको छ भने ३ वटाको खुम्चिएको छ । मर्जर भई बनेका सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क संकलन घटेको छ ।
गत वर्ष प्रभु इन्स्योरेन्सले व्यवसाय विस्तामा सबैभन्दा ठूलो फड्को मारेको छ । प्रभुको बीमा शुल्क संकलन २२.२० प्रतिशतले बढाएर १ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।
गत वर्ष सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सबैभन्दा धेरै १०.३८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २ अर्ब ६३ करोड बीमा शुल्क संकलन गरेको यस कम्पनी गत वर्ष २ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।
शिखरको वर्चश्व कायमै, सलिको र सिद्धार्थ प्रिमियर पछ्याउँदै
विगतका वर्षहरूमा झैं गत वर्ष पनि शिखरले व्यवसायमा आफ्नो वर्चश्व कायमै राखेको छ । गत वर्ष शिखरले ५ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको १३.६१ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा शिखरले गत वर्ष बीमा शुल्क १०.२४ प्रतिशतले बढाउन सफल भएको छ ।
गत वर्ष दोस्रो धेरै बीमा शुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गरेको छ । साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सलिकोले ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल व्यवसायको ११.२२ प्रतिशत हो ।
यस्तै, मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा सिद्धार्थ प्रिमियरको व्यवसाय ५.०८ प्रतिशतले खस्किएको छ ।
यसैगरी, गत वर्ष युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब ३९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुलक संकलन गरेका छन् ।
यस्तै, नेकोले २ अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २७ करोड र नेशनल इन्स्योरेन्सले सबैभन्दा कम १ अर्ब १ करोड बीमाशुल्क आर्जन गरेको छ ।