पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । सरकारले पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

‘ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो,’ गरेको मन्त्रालयले जारी रेको विज्ञप्तिमा भनिएको छ ।

साथै, मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जानकारी गराएको छ ।

सहकारी विभागले २०७९ फागुन २९ गते नै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । हालसम्म सहकारी विभागमा बचतकर्ताले ५३ करोड निक्षेप फिर्ता पाउनुपर्ने माग दाबीसहित उजुरी दिएका छन् ।

विभागले उक्त सहकारीमा अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरे पनि हालसम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।

घोराही-तुलसीपुर चार लेन सडक, ठेक्का तोडेपछि मर्मत सुरू Read Previous

घोराही-तुलसीपुर चार लेन सडक, ठेक्का तोडेपछि मर्मत सुरू

आइएमएफको  टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औं योजनाका विषयमा चासो Read Next

आइएमएफको टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औं योजनाका विषयमा चासो