कर्जा प्रवाह वृद्धिदर १६%, भेट्टाउन सकिएला २१ %को लक्ष्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार गत आर्थिक वर्ष २०७५/७६ को भदौ मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले केही समयअघि प्रकाशित गरेको दुई महिने आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले यस्तो वृद्धि देखाएको हो । राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जा प्रवाह गत आवको तुलनामा वार्षिक २१ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

 

२१ प्रतिशतका दरले कर्जा प्रवाह बढाउने लक्ष्य रहेकोमा २ महिनाको अवधिमै १६ प्रतिशत बढ्नु उत्साहजनक रहेको बैंकका अधिकारीहरु बताउँछन् । यदी यही गतिमा कर्जाको वृद्धिदर बढ्दै गए चालू आवको अन्त्यसम्ममा निर्धारित लक्ष्य हासिल गर्न सकिन्छ,’ बैंकका कर्मचारीहरु बताउँछन् ।

 

कर्जा प्रवाहका लागि बैंकमा यथेष्ट पूँजी नहुँदा माग बमोजिम दिन नसकिएको गुनासो बैंकरहरुले गर्दै आएका छन् । बैंकहरुले माग अनुसार कर्जा प्रवाह गर्न सके मौद्रिक नीतिले तोकेको लक्ष्य छिट्टै हासिल हुने देखिन्छ ।

 

आर्थिक वर्ष २०७५/७६ को भदौ मसान्तसम्ममा कर्जा विस्तारको वृद्धिदर १९ प्रतिशत थियो । गत आवमा उक्त वृद्धिदर बढेको देखिए पनि चालू आवमा प्रवाहित कर्जाको आकार भने बढी रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । चालू आवको दोस्रो महिनामा कुल कर्जा प्रवाह बढेर २९ खर्ब ७६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । जवकी गत आवको सोही अवधिमा यस्तो कर्जा २४ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ थियो ।

 

मुलुक संघीय संरचनामा गएसँगै विकास निर्माण समेत बढ्दै छ । गत आवको भदौ मसान्तको तुलनामा चालू आवको सोही अवधिमा निर्माण क्षेत्रमा मात्र १५ प्रतिशत कर्जा प्रवाह बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निर्माण क्षेत्रमा अझै कर्जा बढ्ने संकेत देखिएको बैंकहरुको ठम्याई छ । बैंकका अनुसार पछिल्लो समय निर्माण सम्बन्धी धेरै टेन्डर आह्वान गरिएकाले कर्जाको माग बढ्ने देखिएको छ ।

 

समग्रमा क्षेत्रगत कर्जा विस्तारमा सुधार आएको छ । कृषि, खनिज, थोक तथा खुद्रा विक्रेता, वित्त, बीमा तथा अचल सम्पत्ति लगायतको कर्जा विस्तार पनि बढेको छ । चालू आवको दोस्रो महीनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा कृषि क्षेत्रतर्फ १ दशमलव १ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ३ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रतर्फ ३ दशमलव २ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ कर्जा २ दशमलव ८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फ ३ दशमलव ८ प्रतिशत बढेको छ ।

 

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ५ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर २ प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा चालु आवको भदौं मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २० प्रतिशत बढेको छ ।

 

यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ४ दशमलव ५ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १० दशमलव २ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा २ दशमलव ४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १ दशमलव ८ प्रतिशत र हायर पर्चेज कर्जा १ दशमलव ३ प्रतिशत बढेको छ भने ओभरड्राफ्ट कर्जा शून्य दशमलव ८ प्रतिशत तथा मार्जिन प्रकृतिको कर्जा १ दशमलव ४ प्रतिशत घटेको तथ्यांकले देखाएको छ ।

आव ०७६/७७ मा बैंक तथा वित्तिय संस्थाबाट प्रमुख शीर्षकमा गएको कर्जा

शीर्षक प्रवाहित कर्जा (लाखमा )
कृषि १६०,३५१
खनिज ७,५७९
उत्पादन तथा प्रशोधन ५२४,८४७
निर्माण ३१९,०९५
विद्युत, ग्यास र पानी १३१,४९३
धातु उत्पादन मेशिनरी र इलेक्ट्रोनिक इक्वीपमेन्ट ३६,४६६
यातायात, सञ्चार र सार्वजनिक सेवा ९५,०२५९
थोक तथा खुद्रा विक्रेता ६२९,२७८
वित्त, बीमा तथा अचल सम्पत्ति २३४,०२१
होटल तथा रेस्टुराँ १२७,०१७
सेवामुलक उद्योग १२७,२३५
उपभोग्य कर्जा १५९,१३३
स्थानीय सरकार १,५७१
महसुल नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण Read Previous

महसुल नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण

एनआईसी एशियाकाे खुद नाफा पहिलाे क्वाटरमै अरब माथि Read Next

एनआईसी एशियाकाे खुद नाफा पहिलाे क्वाटरमै अरब माथि