काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । बिहीबार भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमति बाहेक सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ,’ महानिर्देशनालयले जारी गरेको सूचनामा भनेको छ ।
भारतका प्रमुख धान उत्पादन क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान रोपाईमा कमी आएको छ । धान उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लागएसँगै नेपालमा प्रत्यक्ष असर पर्ने भएको छ । भारतको यो निर्णयले नेपालमा चामलको मूल्य समेत बढ्ने देखिन्छ ।
नेपालले वर्षेनी भारतबाट ठूलो परिणाममा चामल आयात गर्दै आएको छ । गत वर्ष मात्र भारतबाट १५ अर्ब बढीको २१ करोड केजी चामल आयात भएको छ ।