जेठसम्म वाणिज्य बैंकको नाफा ६७ अर्ब, नबिल बन्यो धेरै कमाउने, कुनको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ११ महिना(साउन—जेठ)सम्म वाणिज्य बैंकहरूले ६७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन ।

पछिल्लो एक महिनामा मात्रै वाणिज्य बैंकहरूले १० अर्ब रुपैयाँ नाफा कमाएका छन् । वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ५७ अर्ब १७ करोड नाफा कमाएका थिए ।

अर्थतन्त्रमा देखिएको सिथिलता र कर्जा लगानीको सुस्तताका बाबजुत बैंकहरूको खुदनाफामा भने त्यत्ति धेरै असर देखिँदैन । यद्यपि, खराब कर्जा एक वर्षमा दोब्बरले बढेको छ भने ऋण अशुलीमा समस्या आएको बैंकरहरू बताउँछन् ।

आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ ।

गत चैतकै तथ्यांक अनुसार आधा दर्जन बैंकको वितरणयोग्य नाफामा व्यापक गिरावट आएको थियो भने यो आव सकिने बेलासम्म एक दर्जन बढी बैंकहरूको वितरणयोग्य नाफा घट्ने बैंकरहरूको आकलन छ ।

नबिल एक्लैले कमायो ७ अर्ब

वाणिज्य बैंकहरू मध्ये वित्तीय सूचकमा अब्बल देखिएको नबिल बैंक एक्लैले जेठसम्म ७ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पूँजी कोष र चुक्ता पूँजीको आधारमा ग्लोबल आइएमई, इन्भेष्टमेन्ट मेगा बैंक अघि भए पनि व्यवसायिक प्रतिस्पर्धामा भने नबिल नै अघि देखिएको छ ।

दुई वर्षअघि नेपाल बंगलादेश बैंक गाभेर बलियो सिनर्जी प्राप्त गरेको नबिल अन्य सूचकहरूमा पनि बलियो देखिएको छ । चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो भए पनि ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट मेगाा, एनआइसी र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बीच टक्कर देखिएको छ ।

तेस्रोमा इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ७६ करोड, एनआईसी ४ अर्ब ६३ र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ कमाएका छन् । पूँजी कोष र चुक्ता पूँजीको आधारमा कमजोर भए पनि यस वर्षको ११ महिनाको खुद नाफा आर्जनमा एनआइसीले आफूलाई अब्बल साबित गरेको छ ।

कुनले कति कमाए ?

यस अवधिमा सबैभन्दा धेरै नबिलले नाफा कमाउँदा खुद नाफा आर्जनमा कमजोर कृषि विकास बैंक देखिएको छ । कृषि विकासले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी, सिटीजन्स र माछापुच्छ्रेले डेढ/डेढ अर्ब रुपैयाँ बढी कमाएका छन् ।

एनएमबी बैंकले ३ अर्ब ३२ करोड, हिमालयन ३ अर्ब २९ करोड, लक्ष्मी सनराइज ३ अर्ब २८ करोड, प्राइम ३ अर्ब २१ करोड, स्ट्यान्डार्ड चार्टर्ड ३ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल र एभरेष्ट बैंकलेले ३/३ अर्ब बढी कमाएका छन् । यसैगरी, कुमारी, प्रभु, सानिमा, सिद्धार्थ र एसबीआई बैंकले २/२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।

बैंक चम्किँदा नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

बैंक चम्किँदा नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन हुँदै, उद्यमी बन्न प्रोत्साहन गरिने Read Next

काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन हुँदै, उद्यमी बन्न प्रोत्साहन गरिने