काठमाडौं । बैंकिङ समूहको सेयरमा चमक आउँदा नेप्सेमा लगातार चौथो दिन वृद्धि भएको छ । आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम गरेको हो । ४ दिनमै नेप्से ७१ अंकले बढेको छ ।
सूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोडले घटेर ३ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२५ विन्दुमा पुगेको छ । यसदिन २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५उपसमूह्को परिसूचक बढेको छ भने ८ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ४.५४ प्रतिशतले बढेको छ ।
आज युनाएटेड अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक १४ करोड र शिवम् सिमेन्ट पौने १४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, विशाल बजारको सेयर मूल्य ७.१७, युनाइटेड अजोड इन्स्योरेन्सको ६.५५, बोटलर्स नेपालको ६.०६ प्रतिशतले बढेको छ ।