काठमाडौं । नेपाल वायुसेवा नियम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाजमा पटक पटक समस्या आएपछि छानबिन समित गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनपछि निगमका अध्यक्ष युवराज अधिकारीले आन्तरिक छानबिन उपसमिति गठन गरेका हुन् ।
निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा प्राविधिकसहितको छानबिन समिति गठन गरेको हो । छानबिन समितिले के कति कारणले जहाजमा समस्या देखिरहेको हो पत्ता लगाई प्रतिवेदन बुझाउने छ ।
पछिल्लो समय निगमको न्यारोबडी जहाजमा बारम्बार प्राविधिक समस्या आइरहेको छ । आज मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान गर्ने तय भएको जहाजको क्रु अक्सिजन बोटलमा पे्रसर कम भएपछि उडानमा ढिलाइ भएको छ ।
यसअघि जहाजमा चरा ठोक्किँदा निगमका दुवै न्यारोबढी जहाज ग्राउन्डेड भएका थिए । आइतबार मात्र मर्मत गरेर मलेसिया उडान भरेको जहाजमा आज फेरि समस्या देखिएको हो ।