काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा एक दशक यताकै ठूलो गिरावट आएको छ । वर्षको सुरूमा तरलता संकट र त्यसपछि माग नहुँदा संस्थाहरूको कर्जा लगानीमा ऐतिहासिक गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो लक्ष्यको २४ प्रतिशत मात्र हो ।
नेपाल राष्ट्र बैंकले गत वर्षमा निजी क्षेत्रतर्फ १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । सो अनुसार साढे ५ खर्ब बढी कर्जा लगानी गर्नुपर्थ्यो । तर, गत वर्षमा जम्मा २.९४ प्रतिशत मात्र कर्जा लगानी भएको छ । अघिल्लो असार मसान्तसम्म ४७ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेकोमा एक वर्षमा ३ प्रतिशतले वृद्धि गरेर ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुर्याएका छन् ।
ग्लोबल आइएमई बैंकका पूर्व सीईओ तथा वित्तीय क्षेत्रका जानकार परशुराम क्षेत्री कुँवर एक दशकको तथ्यांक हेर्दा कर्जाको वृद्धिदर सबैभन्दा कम यो वर्ष नै भएको बताउँछन् ।
‘पछिल्लो ८/१० वर्ष यताकै तथ्यांक हेर्दा यत्ति थोरै कर्जा विस्तार वृद्धि भएको थिएन,’ उनले भने, ‘बैंकहरूले आफ्ना ग्रहाकलाई ऋण दिने हो । व्यवसायीले ऋण लिएर राख्र्ने कुरा हुँदैन । उनीहरूले वस्तु उत्पादन गर्ने वा खरिद बिक्री गर्ने हो । यो समग्र चक्रमै असर परेपछि आर्थिक वृद्धिमै सिथिलता आएको हो ।’
बैंकहरूले कर्जा लगानी गर्न नसकेको असर गत वर्षको दुई त्रैमासको नकारात्मक आर्थिक वृद्धिमा देखिएको उनले बताए । वर्षको सुरूमा प्रणालीमा तरलता अभाव र त्यसपछि माग नहुँदा संस्थाहरू व्यवसाय खुम्च्याएर बसेका छन् ।
गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएकोमा १३.१ प्रतिशतले लगानी बढाएका थिए । राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न आयातमा लगाएको प्रतिबन्ध, ब्याजदर वृद्धि, मूल्यवृद्धि लगायत कारणले आन्तरिक अर्थतन्त्रमा सिथिलता आएको छ । कोभिडपछि बाह्य क्षेत्र दबाबमा परेको थियो ।
भुक्तानी सन्तुलन, चालुखाता र विदेशी विनिमय संचिति बढाउन लिएको नीतिका कारण आन्तरिक माग र आपूर्ति चक्र खल्बलिएको थियो । सोही कारण माग संकुचनले बैंक तथा वित्तीय क्षेत्रले समेत लगानी बढाउन सकेनन् ।
‘व्यापार व्यवसाय डाउन छ । व्यवसायीहरूको कन्फिडेन्स छैन । कर्जाको माग छैन । कर्जा चाहिने भनेको कि नयाँ व्यापार सुरू गर्नलाई हो, कि भइरहेको व्यवसायलाई बढाउन हो,’ क्षेत्रीले भने, ‘अहिलेको अवस्थामा आउँदा ब्याजदर मात्रै महंगो होइन, मन्दी भइरहेको छ । यसले गर्दा माग भएन सोही कारण कर्जा वृद्धि नभएको हो ।’
गत वर्ष संसारभर मूल्यवृद्धि उच्च हुँदा महंगिले उपभोक्ताको क्रयशक्ति घटाएको र माग घटेकाकारण वित्तीय क्षेत्रदेखि सबै ठाउँमा त्यसको असर परेको उनले बताए । ‘अघिल्लो वर्ष संसारभरी नै मुद्रास्फीति उच्च भएको थियो । महंगी बढ्ने बित्तिकै मान्छेको क्रयशक्ति कम हुन्छ । क्रयशक्ति घटेपछि उत्पादन र माग घट्ने र त्यसको असर सबैतिर परेको छ,’ उनी भन्छन् ।
अघिल्ला वर्षहरूको तुलनामा राष्ट्र बैंकले गत कर्जा विस्तारको लक्ष्य घटाएको थियो । तर, लक्ष्यको एकचौथाई पनि लगानी गर्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पछिल्लो समय मूल्यवृद्धि नियन्त्रणमा आएका कारण अब माग बढेर कर्जा लगानी पनि बढ्ने देखिएको उनले बताए ।
‘अहिले मुद्रास्फीति नियन्त्रणमा आएको छ । सरकारले साढे ६ प्रतिशतमा मूल्यवृद्धि राख्र्ने लक्ष्य लिएको छ । यही अवस्था हो भने मूल्यवृद्धि लक्ष्यभन्दा तलै रहन्छ र विस्तारै कर्जाको माग पनि बढ्दै जान्छ,’ उनले भने ।