काठमाडौं । काठमाडौँ जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा ७ हजार १०१ मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ आइतबारपत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी ७ हजार १०१ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए ।
‘आव २०७८/७९ मा ३ हजार ७१५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो,’ उनले भने ।
यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा ४६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा ६४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।
यसैगरी, आव २०७९/८० मा लागुऔषधमा ३६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र ३४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।
आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए ।