काठमाडौं । चालु आर्थिक वर्षमा ५ हजार मेगावाट बढीका जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । विद्युत् विकास विभागका अनुसार चालु वर्षको असार मसान्तसम्म ५ हजार ३६८ मेगावाट बराबरका ७२ आयोजनाले सर्वेक्षणका लागि इजाजत अनुमतिपत्र पाएका हुन्।
सर्वेक्षण लाइसेन्स लिनेमा एक मेगावाटदेखि १०६१ मेगावाटसम्मका आयोजनाले अनुमति पाएका छन् । यस्तै, एक वर्षमा ६९६ मेगावाट क्षमताका २५ आयोजनाले निर्माण अनुमति पाएको विभागले जनाएको छ ।
जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी वृद्धि भएसँगै आयोजना निर्माणको क्रम र तयारी बढ्दै गएको हो । बैंक तथा वित्तीय क्षेत्रले निश्चित लगानी उर्जा क्षेत्रमा लगानी गर्नु पर्ने नेपाल राष्ट्र बैंकको बाध्यात्मक व्यवस्था छ ।
ऊर्जा क्षेत्रमा कर्जा लगानीका लागि राष्ट्र बैंकले तोकेको सीमा र र ग्रीन इनर्जीको बढ्दो मागका कारण पनि हाइड्रोपावर उत्पादनको लहर नै चलेको छ । एक पटक लगानी गरेपछि दीर्घकालसम्म प्रतिफल दिइरहने भएकाले हाइड्रोपावरमा लगानीको आकर्षण बढेको हो ।
१०६१ मेगावाट क्षमताको एउटैआयोजना
१०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमति पाएको छ । संखुवासभाको पवाखोलामा निर्माण हुने सो आयोजनाको सर्वेक्षणका लागि अपर अरुण हाइड्रोपावर लिमिटेड कम्पनीले लाइसेन्स पाएको हो ।
७५० मेगावाट विद्युत् उत्पादन क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको पनि सर्वेक्षण अनुमति दिइएको विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी एनएचपीसीले यसको सर्वे अनुमति गत कात्तिकमा पाएको थियो ।
नेपाल लगानी बोर्ड र एनएचपीसी बीच जलाशययुक्त सो आयोजना निर्माणका लागि यही वर्ष सम्झौता भएको थियो ।
६७९ मेगावाट क्षमताको तल्लो अरुणले पनि सर्वेक्षण लाइसेन्स पाएको छ । यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एसजेवीयनले पाएको छ ।
यसैगरी,४९० मेगावाटको अरुण चौथो, ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी दुई लगायत जलाशय तथा अर्धजलाशययुक्त आयोजनाले अध्यननको लागि लाइसेन्स पाएका छन् । सबैभन्दा कम १.५ मेगावाटको रुदिखोला हाइड्रोपावरले सर्वेक्षण अनुमति पाएको छ ।
दुई दर्जन बढीले पाए निर्माण अनुमति
विभागका अनुसार यस आर्थिक वर्षमा सानाठूला गरी दुई दर्जन बढी जलविद्युत् आयोजनाले निर्माण अनुमति पाइसकेका छन् । निर्माण लाइसेन्स पाउनेमा ७७ देखि ३ मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजना रहेका छन् ।
यी आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ६९६ मेगावाट रहेकको छ । ताप्लेजुङको लेलेप निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला हाइड्रोपावर यो वर्ष निर्माण अनुमति पाउने सबैभन्दा ठूलो आयोजना हो । ७० मेगावाटको सोही जिल्लाको सिम्भुखोला हाइड्रोपावरले निर्माण लाइसेन्स पाएको छ । विभागका अनुसार ६५ मेगावाट क्षमताको दूधखोला, ५० मेगावाटको दानाखोला, ४८ मेगावाटको छुजुङ खोला जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएका हुन ।
यसैगरी, ४४ मेगावाट क्षमताको सानीभेरी, अपर मार्दि ४३, भोटेकोसी एक ४०, पालुङखोला ३०, लुजाखोला २४ मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजनाले निर्माण अनुमति पाएका छन् ।
३.३ मेगावाट विद्युत् उत्पादन क्षमताको स्र्यापु, साढेचार मेगावाट क्षमताका अपर पिकुवा खोला र लल्लो इन्द्रवातीलाई निर्माणको अनुमति दिइएको छ ।