अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झर्‍यो, सीडी रेसियो ८१ प्रतिशत

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । निक्षेप लगातार बढिरहने तर कर्जाको माग नभएपछि अन्तर बैंक ब्याजदर ह्वात्तै घटेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत मंगलबार अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम हो ।

कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्छन् । यस्तोमा एक बैंकले अर्को बैंकलाई ब्याज तिनुपर्दछ । त्यही ब्याजदरलाई अन्तर बैंक ब्याजदर भनिन्छ ।

असार लागे यता मात्रै बैंकिङ प्रणालीमा झन्डै डेढ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा लगानी नगन्य छ । चालु आर्थिक वर्षको माघ यता बैंकिङ प्रणालीमा लगातार निक्षेप बढिरहेको छ । अहिले बैंकिङ प्रणालीमा झन्डै ४ खर्ब रूपैयाँ तरलता थुप्रिएको छ ।

तरलता बढे पनि कर्जाको माग नहुँदा बैंकहरूले राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् । अर्थतन्त्रमा आएको संकुचन, महँगो ब्याजदर, केही क्षेत्रमा कर्जा लगानीमा राष्ट्र बैंकको कडाइ लगायत कारणले कर्जाको माग बढ्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप (सीडी) अनुपात सीमाभन्दा साढे ८ प्रतिशत कम अर्थात् ८१.६९ प्रतिशतमा झरेको छ ।

प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । असारमा मात्रै राष्ट्र बैंकले चार पटक रिभर्स रिपो जारी गरेर ७० अर्ब रुपैयाँ खिचिसकेको छ ।

अमेरिकामा मुद्रास्फीति सन् २०२१ यताको सबैभन्दा न्यून बिन्दुमा Read Previous

अमेरिकामा मुद्रास्फीति सन् २०२१ यताको सबैभन्दा न्यून बिन्दुमा

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट