लम्पी स्किन महामारी : ३१ अर्ब बढीको क्षति, किसानले पाएनन् बीमा दाबी भुक्तानी

काठमाडौं । देशभरका पशुमा लम्पी स्किन रोग महामारी रुप लिएको छ । मुख्यगरी गाईभैँसीमा देखापरेको यो रोग देशका ७७ जिल्लामा फैलिसकेको छ ।

सरकारले समयमै रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदन नचाल्दा लम्पी स्किनले महामारीको रुप लिएको हो । उक्त रोग नियन्त्रणका लागि पशुमा भ्याक्सिन लगाउनु पर्ने भए पनि सरकारले बेलैमा आयात नगर्दा देशभर फैलिएको हो ।

पशुपन्छी विभागका अनुसार लम्पी स्किन रोगबाट अहिलेसम्म ७ लाख ९ हजार बढी गाईभैँसी सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये २८ हजार बढी मरेका छन् । त्यस्तै, ४ लाख ५३ हजार ८१९ वटा गाईभैंसी निको भएको विभागले जनाएको छ ।

लम्पी स्किन रोगले महामारीको रुप लिएपछि कृषकले अर्बौंको नोक्सानी व्यहोर्नु परेको छ । साथै, दूध उत्पादन र धान रोपाइँमा समेत असर परेको छ । तराई क्षेत्रमा ट्रयाक्टर चल्ने भए पनि पहाडी क्षेत्रमा गोरुले रोपाइँ गरिँदै आइएको छ । खेती गर्ने सिजनमा गोरु जति सबै बिरामी भएपछि धेरोजसो पहाडी क्षेत्रमा अझै धान रोपाइँ हुन सकेको छैन ।

३१ अर्ब बढीको क्षति

एकीन तथ्यांक नभए पनि हालसम्म यो रोगले ३१ अर्ब रुपैयाँ बढीको क्षती भएको बताइएको छ । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमलसिनाले लम्पी रोगले ३१ अर्बभन्दा माथिको क्षति भएको दाबी गरेका छन् ।

यसैबीच, नेपाल पशु चिकित्सा परिषद्‌ले यो रोगबाट १ खर्ब २६ अर्ब बढीको क्षति हुने प्रक्षेपण गरेको छ । लम्पीको भ्याक्सिन ढिला आएका कारण यसले देशभर महामारी फैलिएको तिमलसिनाले बताए । उनले लम्पी रोगका कारण पहाडी क्षेत्रमा बढी असर पारेको  बताए ।

‘उपचार गरेर ल्याए पनि गोरु खुट्टा नटेक्ने अवस्थामा पुगेका कारण त्यसलाई प्रयोगबिना पाल्नुपर्ने अवस्था रहेको छ,’ तिमलसिनाले चाणक्य पोष्टसँग भने ‘हाम्रो देशमा प्रयोग नहुने गाई गोरुलाई मार्न मिल्दैन, त्यसैले जसोतसो पाल्नुपर्ने बाध्यता हुन्छ ।’ उनका अनुसार तराई क्षेत्रमा असर नपरे पनि पहाडी क्षेत्रमा धान रोपाइँमा प्रभावित भएको उनको भनाइ छ ।

पाएनन् बीमा दाबी भुक्तानी

संक्रमित गाइभैँसीमध्ये आधा बढीको बीमा नै गरिएको छैन भने बीमा गरिएका पशुको समेत दाबी भुक्तानी नपाएको किसानको गुनासो छ । एकीन तथ्यांक नभए पनि संक्रमितमध्ये करिब ४० प्रतिशत पशुको बीमा गरिएको पशुपन्छी विभागले जनाएको छ ।

महासंघ अध्यक्ष तिमलसिनाले बीमा कम्पनीले पैसा दिन नमानेको भन्दै कम्पनीहरूले रकम भुक्तानी नगरेसम्म बीमा कम्पनीका कसैलाई पनि गाउँमा जान नदिने समेत धम्की दिए । ‘बीमा कम्पनीहरूले सामान्य रोग हुन्छ भनेर नाफाका लागि बीमा गराए अहिले कोही भुक्तानी गर्न मान्दैनन्,’ उनले भने ।

उनले किसानको एउटा गाई मर्दा डेढ लाख बढी नोक्सानी हुने गरेको बताए । बीमा रकम भुक्तानी गर्न कृषि तथा पशुपन्छी मन्त्रालय तथा अर्थमन्त्रालयमा ध्यानआकर्षण गराइएको उनले बताए ।

यता, बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले लम्पी स्किन महामारी भएकाले बीमा कम्पनीले नभई सरकारले क्षतिपूर्ती बेहोर्नु पर्ने बताए । उनले कुनै घटनमा पशुको मृत्यु भएमा मात्र बीमा कम्पनीले दाबी भुक्तानी गन बताए । यो रोगलाई सरकारले नै महामारी घोषणा गरेकाले क्षतिपूर्ति दिने दायित्व सरकारको भएको उनले बताए ।

‘सरकारले महामारी भनेर घोषणा गरेपछि हामीले भुक्तानी गर्न मिल्दैन, त्यसको क्षति सिधै सरकारले व्येहोर्नुपर्ने हुन्छ, नत्र कम्पनीले भुक्तानी गर्नै पर्छ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।

भ्याक्सिन र क्षतिपूर्ति माग गर्दै धर्ना

यो रोग यथाशीघ्र नियन्त्रण र क्षतिपूर्ति माग गर्दै पीडित किसान धर्नामा उत्रिएका छन् । विभिन्न कृषक समूह तथा किसान सञ्जालहरूले आज पशुपन्छी विभागमा धर्ना दिएका छन् ।

अखिल नेपाल किसान महासंघकी सदस्य सरिता भुसालले महामारीको समाधानको रुपमा किसानको कर्जा मिनाहा गर्नुपर्ने, क्षतिपूर्ती उपलब्ध गराउनुका साथै बीमा रकम समेत भुक्तानी गराउनुपर्ने बताउँछिन् ।

उनले महामारीको समाधानको बारेमा सरकारसँग सुनुवाइको लागि छलफल भइरसकेको बताइन् । उनले लम्पी रोगको भ्याक्सिन समयमा उपलब्ध गराउन समेत माग गरेकी छन् ।

‘किसानले अहिले लम्पी रोगका कारण महामारी खप्नुपरेको छ, यसमा सरकारले क्षतिपूर्ति भुक्तानी, बीमा भुक्तानी र भ्याक्सिनको सहज व्यवस्था गर्नुपर्छ, जबसम्म किसानले राहत पाउदैनौँ हामी धर्नामा निरन्तर लागि रहने छौँ,’ भुसालले भनिन् ।

आफूहरूको धर्नालाई सरकारले वेवास्ता गरे देशव्यापी आन्दोलनमा उत्रने किसानहरूले बताएका छन् ।

अब माछाको १ वर्षसम्मको बीमा गर्न पाइने, यी ७ अवस्थामा भुक्तानी पाइने Read Previous

अब माछाको १ वर्षसम्मको बीमा गर्न पाइने, यी ७ अवस्थामा भुक्तानी पाइने

माण्डु हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो Read Next

माण्डु हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो