काठमाडौं । किसानहरू व्यवसायिक घाँस खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय देशभर व्यवसायिक रुपमा पशुपालन गर्ने क्रम बढ्दो छ । पशुका लागि पौष्टिक र पोसिलो घाँसको मागको माग बढेसँगै किसनहरू घाँसखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
कम लगानीमा राम्रो आम्दानी हुने भएकाले घाँसखेतीमा किसानको आकर्षण बढेको हो । किसानहरू अन्नबालीको साटो खेतबारीम उन्नत जातका घाँसखेती गर्न थालेका छन् । अन्नबाली लगाउँदा दुःख धेरै हुने, मल, बील, सिचाइँको सुविधा हुनुपर्छ । तर, घाँसखेतीमा लगानी र श्रम थोरै भए पनि पुग्ने, बजारमा घाँसको माग र मूल्य दुवै राम्रो हुँदा किसानहरू यसतर्फ आकर्षित हुन थालेका हुन् ।
अहिले देशभरमा झन्डै २०० बढी किसानले घाँसखेती गरेको कृषि तथा पशुपन्छी विकास मनत्रालयले जनाएको छ । मनत्रालयका अनुसार चितवन, गोर्खा, दाङ, धादिङ लगायतका १५ जिल्लाका किसानले व्यावसायिक घाँसखेती गरिरहेका छन् । उनीहरूले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा घाँस खेती गरिरहेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले किसानले अहिले नेपिअर, डेस्मोडियम, वरसिम, हाइब्रिड मकै, साइलेज–हेलज बनाउने मिल्ने उन्नत जातका घाँसहरूको खेती गरिरहेका छन् ।
‘पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने बढेसँगै बजारमा पौष्टिक घाँसको माग बढ्न थालेको छ । माग बढेसँगै किसानहरू पनि आकर्षित हुन थालेको छन्,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले देशभरका २०० बढी किसानले व्यावसायिक घाँसखेती गरिरहेका छन् । देशका १५ जिल्लाका किसान यसमा संलग्न छन् ।’
नेपालका घाँस उत्पादक एवं व्यवसायीलाई प्रत्यक्ष आर्थिक मद्दत गर्ने उनले बताए । २०७८ सालमा नेपाल र चीन बीच भएको घास निर्यात सम्झौताले किसानलाई घाँसखेती गर्न प्रोत्साहन गरेको उनले बताए ।
अहिले नेपालमा चिनियाँ व्यावसायिहरूले नेपालीसँग मिलेर घाँसखेती गरिरहेको उनले बताए । चितवनमा २० बिघाभन्दा बढी क्षेत्रफलमा चिनियाँ र नेपालीहरूको समूहले हेलेज घाँस उत्पादन गरिरहेको छ ।
सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गरेर ३० प्रतिशत बाँझो जमिनलाई घाँस उत्पादन गर्ने योजना समेत रहेको उनले बताए । सरकारले हरेक स्थानीय तहलाई घाँस उत्पादनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
घाँसखेतीमा चीनले देखाएको आशा
नेपालमा व्यावसायिक घास खेतीको बाटो चीनले खोलिदिएको हो । चीनले नेपालमा उत्पादन हुने घाँस किन्ने सम्झौता गरेसँगै घाँसको बजार समेत सुनिश्चित भएको छ ।
२०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला घाँस निर्यात सम्बन्धी द्धिपक्षीय सम्झौता भएको थियो । सुरक्षीत रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्ने सम्झौता भएको थियो ।
घाँस निर्यातका लागि चीन सरकारले प्रोटोकल स्वीकृत गरिसकेको छ । तत्कालीन कृषिमन्त्री महिन्द्र राय यादवको पालामा चीन सरकारका तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत भएको थियो । यद्यपि, अहिलेसम्म नेपालबाट घाँस निर्यात भने हुन सकेको छैन ।
छैन गुणस्तर जाँच्ने ल्याब
मन्त्रालयका प्रवक्ता सञ्जेलका अनुसार घाँस निर्यातका लागि मापदण्ड परीक्षण गर्न ल्याब बनाउनु पर्ने भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । उनले अहिले ल्याब निर्माणका पहल भइरहेको बताए ।
‘घाँस पठाउन बाटो खुली सक्यो तर, पठाउन उनीहरूले भनेको जस्तो मापदण्ड पूरा गर्नुपर्छ, गुणस्तर परीक्षणका लागि अहिलेसम्म ल्याब बनेको छैन, त्यसैले निर्यात सुरु गर्न सकिएको छैन,’ उनले भने ।
घाँस निर्यात गर्नका लागि धेरैै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । चीनले घाँसको उत्पादन भएको अवधि, अवस्था, म्याद लगायतका आधारमा मापदण्ड तोकेको छ ।
नेपालले तीन प्रकारका घाँस निर्यात गर्न पाउने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ । साइलेन–हेलज, मकै र नेपिअर लगायत घाँस चीन निर्यात गर्ने गरी सम्झौता भएको छ । नेपालले हरियो र सुक्खा दुवै प्रकारको घाँस चिन निर्यात गर्ने सम्झौतामा रहेको छ ।
१ करोडको घाँस आयात
अहिलेसम्म निर्यात गर्न नसके पनि नेपालले विदेशबाट घाँस आयात गर्दै आएको छ । चालु आर्थिक वर्षको १० महिनामा कुल १ करोड ४ लाख ६० हजार रुपैयाँ बराबरको घास आयात भएको छ ।
सो मूल्यमा ८३ हजार ७०० केजी घास आयात भएको छ । यो घाँस भारतबाट आयात भएको हो ।