हुलाक बचत बैंकको खाता रोक्का, पुरानाे खाता वाणिज्य बैंकमा सार्न सुरू

काठमाडौं । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो ।

यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहने छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खातालाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक बचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकसँग यही असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले हुलाक बचत बैंकको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि गरिसकेको छ । हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै, हुलाक बचत बैंकमा रहेका खाता हस्तान्तरणपछि हुलाक बचत बैंक खारेज गरी हुुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद्बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए । देशभरि सञ्चालनमा रहेका ६८ हुलाक बचत बैंकमध्ये १२ घाटामा चलेका थिए ।

त्यहाँ कार्यरत कर्मचारीबाट बचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले बचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुविधा प्रदान गर्न स्थापना भएको हुलाक बचत बैंकको सेवा र कारोबारमा बचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाको विस्तारसँगै सङ्कुचन आएको छ । यही कारण हुलाक बचत बैंक न्यून प्रभावी बन्न पुगेको निष्कर्षसहित सरकार हुलाक बचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक बचत बैंक खारेज गर्ने निर्णयमा पुगेको हो ।

१०९ मेगावाटको नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा Read Previous

१०९ मेगावाटको नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

घासँखेतीमा आकर्षित हुँदै किसान, देशभर २०० बढीले व्यवसायिक खेती गर्दै Read Next

घासँखेतीमा आकर्षित हुँदै किसान, देशभर २०० बढीले व्यवसायिक खेती गर्दै