काठमाडौं । चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिना (साउन–जेठ) तथ्यांक अनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्म कुल रु ११ खर्ब १२ अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । औसतमा चालु वर्षमा हरेक महिना १ खर्ब रेमिट्यान्स भित्रिएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.१२२९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।