काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत बन्दै गए पनि आन्तरिक सिथिलता भने कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको अध्ययन प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य क्षेत्रको दबाब कम हुँदै गएको देखाएको हो ।
तर, आन्तरिक सूचकमा भने सुधार आउन नसकेको तथ्यांकले देखाउँछ । विदेशी विनिमय संचिति डेढ वर्षयताकै उच्च छ भने रेमिट्यान्स आप्रवाह पनि वृद्धि भएको छ ।
शोधनान्तर स्थिति, भुक्तानी सन्तुलन र चालु खाता लगायत बाह्य सूचकहरु बलियो भन्दै गएका छन् । सरकारको खर्च गर्ने क्षमता, राजस्व परिचालन र कर्जा लगानी लगायत आन्तरिक सूचकमा भने सुधार आउन सकेको छैन ।
रेमिट्यान्स २२.७ प्रतिशतले बढ्यो
चालु वर्षको जेठ मसान्तसम्म २२.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिसम्म रेमिट्यान्स आप्रवाह १११२ अर्ब ५२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।
चालु खाता र शोधनान्तर स्थितिमा सुधार
यस अवधिमा चालु खाता ६९ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९२ अर्ब १४ करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २२८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
एक वर्षको आयात धान्ने मुद्रा संचिति
२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा रु.१४८० अर्ब ८७ करोड पुगेको छ ।
यो पछिल्लो डेढ वर्ष यताकै उच्च हो । आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
व्यापार घाटा १३ खर्ब ३७ अर्ब
चालु वर्षमा व्यापार घाटा १३ अर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो १५.२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।
११ महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १४३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
यस अवधिमा वस्तु आयात १६ प्रतिशतले कमी आई १४८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
आन्तरिक सूचकहरु कमजोर
जेठ मसान्तसम्म वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फ्रीतीमा सुधार देखिएको छ ।
संघीय सरकारको खर्च १,१७६ अर्ब ७ करोड र राजस्व परिचालन ८३६ अर्ब ८५ करोड रहेको छ । जुन लक्ष्यभन्दा निकै कम हो । यसैगरी, कर्जाको माग नहुँदा बैंकहरुले पनि लगानी बढाउन सकेका छैनन् ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक गतिविधिमा आएको सुस्तताले लगानी विस्तार र सरकारको खर्च बढ्न सकेको छैन । जसको कारण उद्योग, व्यापार व्यवसायदेखि अन्य क्षेत्रमा समेत प्रभाव परेको छ ।