अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत, आन्तरिक सिथिलता कायमै

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत बन्दै गए पनि आन्तरिक सिथिलता भने कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको अध्ययन प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य क्षेत्रको दबाब कम हुँदै गएको देखाएको हो ।

तर, आन्तरिक सूचकमा भने सुधार आउन नसकेको तथ्यांकले देखाउँछ । विदेशी विनिमय संचिति डेढ वर्षयताकै उच्च छ भने रेमिट्यान्स आप्रवाह पनि वृद्धि भएको छ ।

शोधनान्तर स्थिति, भुक्तानी सन्तुलन र चालु खाता लगायत बाह्य सूचकहरु बलियो भन्दै गएका छन् । सरकारको खर्च गर्ने क्षमता, राजस्व परिचालन र कर्जा लगानी लगायत आन्तरिक सूचकमा भने सुधार आउन सकेको छैन ।

रेमिट्यान्स २२.७ प्रतिशतले बढ्यो

चालु वर्षको जेठ मसान्तसम्म २२.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिसम्म रेमिट्यान्स आप्रवाह १११२ अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार

यस अवधिमा चालु खाता ६९ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९२ अर्ब १४ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २२८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षको आयात धान्ने मुद्रा संचिति

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा रु.१४८० अर्ब ८७ करोड पुगेको छ ।

यो पछिल्लो डेढ वर्ष यताकै उच्च हो । आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

व्यापार घाटा १३ खर्ब ३७ अर्ब

चालु वर्षमा व्यापार घाटा १३ अर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो १५.२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

११ महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १४३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

यस अवधिमा वस्तु आयात १६ प्रतिशतले कमी आई १४८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

आन्तरिक सूचकहरु कमजोर

जेठ मसान्तसम्म वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फ्रीतीमा सुधार देखिएको छ ।
संघीय सरकारको खर्च १,१७६ अर्ब ७ करोड र राजस्व परिचालन ८३६ अर्ब ८५ करोड रहेको छ । जुन लक्ष्यभन्दा निकै कम हो । यसैगरी, कर्जाको माग नहुँदा बैंकहरुले पनि लगानी बढाउन सकेका छैनन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक गतिविधिमा आएको सुस्तताले लगानी विस्तार र सरकारको खर्च बढ्न सकेको छैन । जसको कारण उद्योग, व्यापार व्यवसायदेखि अन्य क्षेत्रमा समेत प्रभाव परेको छ ।

लगातार आठौं महिना बढ्यो डलर संचिति, ढुकुटीमा २१ महिना यताकै धेरै जम्मा Read Previous

लगातार आठौं महिना बढ्यो डलर संचिति, ढुकुटीमा २१ महिना यताकै धेरै जम्मा

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना १ खर्ब बढी भित्रिँदै Read Next

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, हरेक महिना १ खर्ब बढी भित्रिँदै