लगातार आठौं महिना बढ्यो डलर संचिति, ढुकुटीमा २१ महिना यताकै धेरै जम्मा

काठमाडौं । अमेरिकी डलर संचितिमा लगातार सुधार आएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचितिमा सुधार आएको हो ।

दुई वर्ष यता लगातार ओरालो लागेको डलर संचिति चालु आवको असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट ९ करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)को तथ्यांक अनुसार वैशाखको तुलनामा जेठमा डलर संचिति ९ करोडले बढेको हो ।

वैशाख मसान्तसम्म कुल डलर संचिति ११ अर्ब २१ करोड रहेकोमा जेठ मसान्त आइपुग्दा ९ करोडले बढेर ११ अर्ब ३० करोड पुगेको छ । यो पछिल्लो २१ महिना यताकै धेरै हो । यसअघि सन् २०२१ को अगस्ष्टमा ११ अर्ब ४२ करोड डलर संचिति थियो ।

गत असार मसान्तयता डलर संचिति १८.५ प्रतिशतले बढेको हो । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो । डलर संचितिमा सुधार आएको यो लगातार आठौं महिना हो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड र वैशाखमा २७ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै गत वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, चालु वर्षको पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा रु.१४८० अर्ब ८७ करोड पुगेको छ ।

चालु आवको ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

वीरगंज महानगरले फिर्ता ल्यायो १४८ बिगाहा अतिक्रमित सार्वजनिक जग्गा Read Previous

वीरगंज महानगरले फिर्ता ल्यायो १४८ बिगाहा अतिक्रमित सार्वजनिक जग्गा

अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत, आन्तरिक सिथिलता कायमै Read Next

अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत, आन्तरिक सिथिलता कायमै