सहकारीको तालिमले बनायो आत्मनिर्भर, अचार बेचेरै ५ लाख आम्दानी

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लएकी थिइन् ।  उनी आत्मनिर्भर मात्र बनेकी छैनन् प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छिन् ।

तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन् । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल ५ लाख पुगेको बताइन् ।

चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ । उनी बिहान सबेरै उठ्छिन् । अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन् । मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन् । दिउँसोपख छोरी बुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाध्छन् । कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उनीहरुको दैनिकी हो ।

‘उद्योग सञ्चालनपश्चात् कोरोना कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो,’ मायाले भनिन्, ‘व्यवसाय छोडौँ कि निरन्तरता दिउँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ ।’

उनले आफूले उत्पादन गरेको अचारबाट वार्षिक रु साढे दुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । ‘भान्साको गहनाका रुपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ,’ उनले भनिन्, ‘अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ ।’ उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुईचार जनालाई रोजगार दिन सक्ने दाबी गरिन् ।

उनीको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ । उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन् । यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन् ।

‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ,’ मायाले भनिन्, ‘ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ ।’

पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा छन् भने एक छोरा सुरज वैदेशिक रोजगारमा गएका छन् । उनीलाई बुहारी आरती र छोरी पूजाले अचार बनाउने काममा दैनिक साथ दिँदै आएकी छिन् ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सीपमूलक तालिम सिकेर आत्मर्निभर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहानका योजना ल्याएको बताए । ‘नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उनले भने, ‘परम्परागत पेसा, अस्तकला, महिलाको सीपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ ।’रासस

देशभर केबलकार बनाउने लहर, थप आधा दर्जन निर्माणको तयारी Read Previous

देशभर केबलकार बनाउने लहर, थप आधा दर्जन निर्माणको तयारी

वीरगंज महानगरले फिर्ता ल्यायो १४८ बिगाहा अतिक्रमित सार्वजनिक जग्गा Read Next

वीरगंज महानगरले फिर्ता ल्यायो १४८ बिगाहा अतिक्रमित सार्वजनिक जग्गा